गर्भनर अधिकारीको अन्तिम परिक्षाः अर्थतन्त्र र पुँजी बजारलाई चलायमान बनाउन सक्लान् ?

दिपक विष्ट
२१ जेष्ठ २०८१, सोमबार १७:३०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल चैतमा सकिँदैछ । गर्भनर अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । साउन पहिलो साता भित्र मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंक तयारीमा जुटेको हो ।

यस पटक गर्भनर अधिकारीलाई चुनौती र अवसर दुवैको सामना गर्नुपर्ने देखिन्छ । निजी क्षेत्र र पुँजी बजारबाट गर्भनर माथि लागि रहेका अनेक आरोपलाई चिर्न पर्ने ठुलो चुनौती छ भने अर्थतन्त्र लयमा आइरहँदा केही नीतिगत अवरोध फुकुवा गरी लगानीयोग्य वातावरण सिर्जना गरी सबैका लागि सक्षम गर्भनर कहलिने अवसर रहेको छ । अहिलेको शेयर बजार नीतिगत चेपुवामा परेको छ । गर्भनरले यस पटक पुँजी बजारका लागि चालेको कदम कि सम्झिन लायक हुने छ भने कि त नर्बिसिने छाप हुने छ ।

पुँजी बजारका लागि केही नीति फुकुवा भयो भने लगानीकर्ताले गर्भनरलाई सम्झी रहने छन् । यदि नीतिगत सुधार नभएको खण्डमा नीतिको चेपुवामा परेको कार्यकाल अथवा अर्बौँ रकम गुमाएको गर्भनरको कार्यकाल भने नर्बिसिने हुनेछ । अब त्यो कुरा गर्भनरको हातमा छ ।

प्रायः शेयर बजारका लगानीकर्ता अधिकारीसँग जहिले पनि रुष्ट हुँदै आइरहेका छन् । पुँजी बजार सुधारका लागि गर्भनर अधिकारीको भूमिका उदासीन रहेको लगानीकर्ताको आरोप रहेको छ । शेयर बजारमा सबैभन्दा ठुलो भूमिका मौद्रिक नीतिको रहेको हुन्छ । मौद्रिक नीतिबाट आउने पोलिसिले नै शेयर बजार कता लैजाने भन्ने बाटो तयार गर्छ । पछिल्लो समय राष्ट्र बैंकले शेयर बजारलाई कसेर राखेको आरोप लगानीकर्ताको रहँदै आइएको छ । राष्ट्र बैंकको कडा नीतिको कारण शेयर बजारलाई निरन्तर धक्का लागि रहेको लगानीकर्ताहरूका तर्क छन् ।

अब आउने मौद्रिक नीतिमा गर्भनर अधिकारीले केही लचिलो हुने सङ्केत समेत गरेका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले मौद्रिक नीति खुला आउने बताएका थिए । लगानीकर्ताले मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतलाई १०० प्रतिशत र १५ करोड र २० करोडको सीमा हटाउनु पर्ने माग लामो समयदेखि उठाउँदै आएका छन् । सुझाव दिने बेला लगानीकर्तालाई सम्बोधन हुने आश्वासन दिने राष्ट्र बैंकले शेयर बजारका नीति सुधारका लागि कुनै कदम अगाडि बढाइएको पाइँदैन । यता, लाभांश वितरणमा माइक्रोफाइनान्सलाई लगाएको क्याप पनि हटाउनु पर्ने माग लगानीकर्ताको रहँदै आएको छ । उक्त क्षेत्रमा लगाएको क्यापका कारण लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण समेत घट्दै गएको देखिन्छ ।

यता, निजी क्षेत्र पनि राष्ट्र बैंकको पोलिसि कडा भइरहेको बताउँदै आइरहेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्दप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीयोग्य वातावरण रहेको बेला केन्द्रीय बैंकको केही नीति फुकुवा हुनुपर्ने बताउँदै आइरहेका छन् । ढकालले भने, ‘बजेट मार्फत लगानीकर्ताका माग सम्बोधनले नयाँ उत्साह थपेको छ । अब लगानीयोग्य वातावरण बन्दै गएको देखिन्छ । लगानीको वातावरण बनाउन कानुन नै परिवर्तन गर्ने कुरा एकदमै राम्रो हो । अब हाम्रो आँखा मौद्रिक नीतिमा हुनेछ ।’

विरोधको भुमरीमा परेका गर्भनर जय जयकार हुने मुडमा

निरन्तर लगानीकर्ताको विरोधको भुमरीमा पर्दै आइरहेका गर्भनर यस पटक अन्तिम मौद्रिक नीतिमा जय जयकार भएर बिदाइ हुने चाहाना रहेका छन् । शेयर बजारलाई बाधा गर्ने नीति परिमार्जन गर्ने गर्भनर अधिकारी सकारात्मक रहेका हुन् ।

यो पटक मौद्रिक नीति सोच भन्दा फरक आउने राष्ट्र बैंकको स्रोतले बताएको छ । ‘अब हामी मौद्रिक नीतिको तयारीमा जुटेका छौँ । चौतर्फी आलोचना खेप्दै आएका गर्भनर ज्यूले यस पटक शेयर लचिलो नीति ल्याउने सङ्केत दिइरहेका छन्’ स्रोतले भन्यो, ‘अर्थतन्त्र बिस्तारै लयमा आइरहेको छ । अब केही बाँधिएका नीति फुकुवा गर्ने गर्भनर सकारात्मक छन् । शेयर बजारलाई बाधा गरेका व्यवस्था चलाउन समेत छलफल भइरहेको छ । यसमा गर्भनर पनि सकारात्मक छन् ।’

चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत पनि मार्केटलाई बाधा गर्ने नीति परिमार्जन गरिएको भन्दै गर्भनर अधिकारीले पुँजी बजारका लागि राम्रो नै छाप छोडेर छाने एक अधिकारीले बताए । उनले भने, ‘यस चालु आवमा मौद्रिक नीतिको समीक्षा मार्फत केही सुधार त पक्कै भएको हो । बाधा गरेका नीति अलि फुकुवा भएका थिए । अबको मौद्रिक नीति निकै खुला आउने गर्भनरले बताउँदै आइरहेका छन् । पुँजी बजार सुधारका लागि अब केही नीति खुला गरेरै जाने गर्भनरको धारण छ ।’

अबको मौद्रिक नीति मार्फत गर्भनर अधिकारीले पुँजी बजारका लगानीकर्तालाई सम्झिने गरी छाप छोड्नु पर्ने लगानीकर्ता राधा पोखरेलले बताइन् । उनले भनिन्, ‘अबको मौद्रिक नीति मार्फत हामीले धेरै आशा गरेका छौ । गर्भनरको कार्यकाल समेत धेरै छैन । शेयर बजारका ६० लाखभन्दा बढी लगानीकर्ताका लागि सम्झिने बनाउनु हुन्छ कि नर्बिसिने बनाउनु हुन्छ त्यो उहाँको हातमा छ ।’

लगानीकर्ता रोहन कार्कीले आन्तरिक र बाह्य अर्थतन्त्र बलियो र बैंकमा तरलता प्रशस्त हुँदा आन्तरिक अर्थतन्त्र चलायमान बनाउन कदम राष्ट्र बैंकले चाल्नु पर्ने बताए । कार्कीले भने, ‘आन्तरिक र बाह्य अर्थतन्त्र बलियो र बैंकमा तरलता प्रशस्त हुँदा आन्तरिक अर्थतन्त्र चलायमान बनाउने कदम चाल्नु पर्छ । स्वदेशीका लाखौँ लगानीकर्ता, उद्योगी र व्यवसायीलाई सम्बोधन गर्ने खाले कुरा मौद्रिक नीति मार्फत आउनु जरुरी छ ।’

अर्थतन्त्र मन्दीमा रहेको बेला केही नीतिगत कसेर राख्नु स्वाभाविक भए पनि बिस्तारै सुधार तिर अर्थतन्त्र गइरहँदा केही नीति बाँधेर राख्न नहुने कार्कीको तर्क छ। ‘अर्थतन्त्र बिस्तारै लयमा आइरहेको छ । अब बिस्तारै बाधक नीति फुकुवा तिर राष्ट्र बैंकको ध्यान जानु पर्छ ।’

One thought on “गर्भनर अधिकारीको अन्तिम परिक्षाः अर्थतन्त्र र पुँजी बजारलाई चलायमान बनाउन सक्लान् ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*