हाइड्रोपावर सेक्टरमा झुम्मिदै लगानीकर्ता, किन आइरहेको छ कारोबारमा रफ्तार ?

दिपक विष्ट
२८ जेष्ठ २०८१, सोमबार १७:४९

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । सोमबार शेयर बजारको परिसूचक नेप्से ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा कायम हुँदा होटल तथा पर्यटन समूह भने एकैदिन २ प्रतिशतले बढेको छ । सो समूह ५०.७४ अंकले बढेर २५७७.८२ बिन्दुमा पुगेको छ ।

सोमबार तीन शेयरमा सकारात्मक सर्किटमा बढेको छ । जसमध्ये सबै हाइड्रोपावर कम्पनी रहेका छन् । यसदिन कुथेली बुखेरी स्मल, त्रिशुली जलविद्युत र पिपुल्स पावरको शेयरमा सकारात्मक लागेको हो । हाइड्रोपावर सेक्टरको शेयर कारोबार समेत उच्च बन्दै गएको हो । पछिल्लो समय दिन प्रतिदिन हाइड्रोपावर सेक्टरमा लगानीकर्ता झुम्मिएको पाइन्छ । अब असार महिना पनि नजिकिंदैछ । सामान्ययतः असार, साउनलाई शेयर बजारको सिजनका महिना भन्ने गरिन्छ । सोहि गतिलाई अहिलेको मार्केटले पछ्याइरहेको छ । पछिल्ला दिनहरुमा कारोबार रकममा भने विस्तारै गति लिन थालेको छ । यसले केही आशा बढाएको लगानीकर्ताको छ ।

हाइड्रोपावर सेक्टरमा कम्पनीको सकारात्मक अवस्था हेरेर लगानीकर्ताले लगानी गरेको हुन सक्ने लगानीकर्ता तारा फुलेलले बताए । ‘अहिले सबै लगानीकर्ताहरू कुनै सुरक्षित सेक्टरमा गएर कारोबार गरेको देखिन्छ । कुनै समय अघि बैंक, फाइनान्स र माइक्रोफाइनान्स चलेको छ’ उनले भने, ‘हाइड्रो तिर अहिले लगानी बढेको देखिन्छ । कम्पनीलाई हेरर त्यसको सकारात्मक पक्षलाई लिएर लगानी बढाएका हुन् । लगानी गर्ने कुरा आफ्नो रोजाइको विषय हो, जुन क्षेत्र राम्रो लाग्छ त्यसैमा लगानी गर्ने हो ।’

सरकारले उर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दा त्यसको सकारात्मक असर समेत शेयर बजारमा परेको फुलेल बताउँछन् । उनले भने, ‘राज्यले सम्बोधन गर्ने कुराहरुको सकारात्मक प्रभाव बजारमा पर्ने नै हुन्छ । लगानीकर्ता आशावादी हुने भनेको राज्य र नियामकसँग हो ।’

गर्भनर अधिकारीको अन्तिम परिक्षाः अर्थतन्त्र र पुँजी बजारलाई चलायमान बनाउन सक्लान् ?

मौद्रिक नीतिले नयाँ कुनै पोलिसि र नीतिगत सुधार नगरेसम्म बजारले यहि रेखा तिर घुमि रहेको उनको तर्क छ । ‘अहिले लगानीकर्ताले राज्य छ कि छैन भनेर महसुश गर्ने पाएका छैनन् ।अर्थमन्त्री ज्यू (वर्षमान पुन) ले आश्वासन मात्र दिने काम गरेको छ । अब मौद्रिक नीतिको प्रतिक्षामा छौं । मौद्रिक नीतिमा केहि सुधार नभएसम्म बजारले के गति लेला र ?’ फुलेलले भने ।

कारोबार रकम समेत उच्च

पछिल्लो १८ दिन यता कारोबार रकम चार अर्ब माथि रहेको छ । शेयर बजार २ हजार बिन्दु वरिपरि घुमि रहेदा कारोबार भने सन्तोषजनक नै रहेको छ । हाइड्रोपावर समूहको शेयर मूल्य समेत उच्च बन्दै गएको छ । नियामकको सक्रियताले लगानीकर्ता आशावादी भएको देखिन्छ ।

जेठ ७ गते कारोबार रकम भने पाँच महिना यता कै उच्च बनेको थियो । सो दिन कारोबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यसअघि माघ ८ गते ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ कारोबार पुगेको थियो । सो यता कै उच्च कारोबार जेठ ७ गते भएको देखिन्छ । सो यता कारोबारमा सुधार देखिदै आएको छ

शेयर बजार ओरालो लागेपनि कारोबारको रफ्तारमै रहेको छ । मौद्रिक नीति समीक्षापछि शेयर बजारमा ४ अर्ब बढीको कारोबारले निरन्तरता पाइरहेको छ । नेप्से उच्च अकंले बढेर ओरालो समेत लागि रहेको छ । तर, कारोबार रकम निरन्तर एउटै लयमा छ ।

राष्ट्र बैंकले आगामी मौद्रिक नीति खुकुलो बनाउने संकेत देखाएका कारण लगानीकर्तामा उत्साह देखिएको जानकारहरु बताउँछन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल चैतमा सकिँदैछ । गर्भनर अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । उनले सार्वजनिक कार्यक्रममै अबको मौद्रिक नीति खुला आउने प्रतिक्रिया दिदै आइरहेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले पनि सार्वजनिक रुपमै बजेट र मौद्रिक नीतिको तालमेल मिल्ने बताउँदै आएका छन् । अधिकारीको पनि अर्थमन्त्री पुनसँग ट्युनिङ मिलेको देखिन्छ । शिथिल अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति लिन पुनले गभर्नर महाप्रसाद अधिकारी सुझाव समेत दिइरहेका छन् । यसले गर्दा लगानीकर्ता उत्साहित बनेका हुन् ।

लगानीकर्ताले मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतलाई १०० प्रतिशत र १५ करोड र २० करोडको सीमा हटाउनु पर्ने माग लामो समयदेखि उठाउँदै आएका छन् । यता, लाभांश वितरणमा माइक्रोफाइनान्सलाई लगाएको क्याप पनि हटाउनु पर्ने माग लगानीकर्ताको रहँदै आएको छ ।

छिटो नाफा बुक गर्ने लगानीकर्ता हाइड्रोपावरमा हाबी हुँदा कारोबार वृद्धि भएको लगानीकर्ता छोटेलाल रौनियारले बताए । ‘अहिले दीर्घकालीन लगानीकर्ता बैङ्क तथा वित्तीय संस्था मै लगानी गरी रहेका छन् । तर छिटो नाफा लिएर बुक गर्ने लगानीकर्ता हाइड्रोपावरमा हाबी भएको देखिन्छ । सोही कारण समेत हाइड्रोपावरमा लगाव लगानीकर्ताको देखिन्छ’ उनले भने, ‘उर्जा क्षेत्रमा बजेट मार्फत प्राथमिकतामा राखिनुले पनि त्यसको राम्रो असर शेयर बजारमा परेको हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*