जोरायल गाउँपालिकाद्वारा पदाधिकारी सुविधा मार्फत साढे ५५ लाख खर्च, आर्थिक व्यवस्थापनमा प्रश्न

१७ असार २०८२, मंगलवार १५:५८

काठमाडौँ । डोटीको जोरायल गाउँपालिकामा आन्तरिक आम्दानीको अत्यधिक हिस्सा पदाधिकारी सुविधामै खर्च भएको पाइएको छ । महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदनले गाउँपालिकाको यस्तो खर्च प्रवृत्तिलाई औचित्यविहीन भन्दै आलोचना गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा स्पष्ट उल्लेख भएअनुसार स्थानीय तहले आन्तरिक आयको परिधिभित्र रही व्ययको अनुमान तयार गरी खर्च गर्नुपर्ने व्यवस्था छ । तर, यो कानुनी व्यवस्थाको उल्लंघन गर्दै पालिकाले चालु आर्थिक वर्षमा आन्तरिक आयको ८६.७७ प्रतिशत हिस्सा पदाधिकारी सुविधाका नाममा खर्च गरेको देखिएको छ ।

गाउँपालिकाको आन्तरिक आम्दानी जम्मा ६४ लाख ९ हजार ८२९ रुपैयाँ ६५ पैसा मात्र छ, यता पदाधिकारीका लागि सुविधा वापत ५५ लाख ६२ हजार रुपैयाँ खर्च गरिएको छ ।

यस्तै, पदाधिकारी तथा कर्मचारीको बैठक भत्ताको नाममा पनि गाउँपालिकाले उल्लेख्य रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । चालु वर्षमा पदाधिकारी बैठक भत्तामा ६६ हजार, कर्मचारी बैठक भत्तामा ५१ हजार र न्यायिक समिति बैठकमा ३९ हजार गरी कुल १ लाख ५६ हजार खर्च गरिएको देखिन्छ ।

ऐनको दफा ७३ मा उल्लेख भएअनुसार प्रमुख प्रशासकीय अधिकृतले बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता र औचित्य कायम राख्नुपर्ने प्रावधान रहे पनि यसप्रकारको खर्च प्रवृत्तिले सो व्यवस्था कार्यान्वयनमा नआएको देखाउँछ ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा भने आफुले कानुन सम्मत नै खर्च गरेको बताउँछन् । उनले भने, ‘प्रदेश सरकारले हामीलाई दिएको पदाधिकारी सुविधा बापत नै खर्च गरेको छौं ।यसमा हामीले कुनै आफ्नो ढुङ्गले गरेको होइन।’

महालेखाले उठाएको प्रश्नमा भने उनले जवाफदेही उत्तर दिन सकेनन् । ‘हामीले प्रदेशले भने अनुसारको सुविधा लिएका छौं । अब महालेखाले औचित्यहीन भनेको विषयमा महालेखाले नै प्रदेशलाई सोध्नु  पर्छ’ ओझाले भने ।

यता, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट पनि प्रदेश कानुन बमोजिम नै पालिकाले सो रकम खर्च गरेको कुरामा जोड दिए । उनले भने, ‘प्रदेश कानुन बमोजिम नै खर्च भएको छ । प्रदेशले राजपत्रका निकालेको सेवा सुविधामा नै आधारित रहि पदाधिकारी सुविधा लिईको छ । त्यसका अन्यथा केहि पनि छैन ।’

गाउँपालिकाका अध्यक्ष ओझा र उपाध्यक्ष जमुना बोहरा (रोकाया) नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सम्बन्धीत समाचार:

जोरायल गाउँपालिकामा ब्रोडब्याण्ड इन्टरनेट सेवा खरिदमा ३३ लाखबढीको अनियमितता

2 thoughts on “जोरायल गाउँपालिकाद्वारा पदाधिकारी सुविधा मार्फत साढे ५५ लाख खर्च, आर्थिक व्यवस्थापनमा प्रश्न

  1. तिलक बहादुर बोगटी says:

    चोर हो भनि जान्दा जान्दै भोट गर्ने जनताको लागि ठिक्क भा छ भन्छु म त
    पच्काय ज्वानौ पच्काय
    परिश्रम बिनाको धन पाप हो भन्ने श्लोक भागवत गीतामा त्यतिकै लेखिएको होइन होला तर कसैले पनि आफ्ना बाल बालिकालाइ चोरका सन्तान को को हुन् भनेर अर्ति दिन चाहिँ नभुल्नु होला

  2. Saroj saud says:

    जोरायल गाउँपालिकामा राम्रो लिडर युवा हरुको कमी छ। पदमा रहेका सबै चोर नै छन्। अब इन्टरनेट नि छैन । यी पद मा रहेका चोर हरु लागि यो कुरा था छैन जस्तो छ । अब अहिले इन्टरनेट को कति धेरै महत्त्व छ।तर पनि हामी जोरयल गाउँपालिका 6 नम्बर वडा मा हामी हरु इन्टनेट बाट टाढा छौ। यो कुरा मा कसैको नि चासो छैन।
    त्यही हो लुट मच्चाउँदै जाने हरु को भीड।
    यसरी होला र परिवर्तन ?

Leave a Reply to तिलक बहादुर बोगटी Cancel reply

Your email address will not be published. Required fields are marked *


*