जोरायल गाउँपालिकामा ब्रोडब्याण्ड इन्टरनेट सेवा खरिदमा ३३ लाखबढीको अनियमितता

काठमाडौँ । डोटीको जोरायल गाउँपालिकामा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडानका क्रममा सार्वजनिक खरिदसम्बन्धी नियम उल्लंघन गरेको पाइएको छ । महालेखा परीक्षकको २०८०।८१ को प्रतिवेदन अनुसार पालिकाले खरिद ऐनको उल्लंघन गर्दै ठुलो रकम अनियमितता भएको खुलासा गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौं र जोरायल गाउँपालिका डोटीबीच २०८० साल असोज २४ गते हस्ताक्षर भएको सम्झौता अनुसार गाउँपालिकाका ४५ वटा सामुदायिक विद्यालयमा न्यूनतम २० Mbps क्षमताको नन-डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गर्ने सहमति भएको हो। सम्झौताअनुसार सेवा जडानपछि स्थानीय तहमार्फत सेवा प्रदायकलाई जडान खर्च र दुई वर्षको मासिक शुल्क उपलब्ध गराइने उल्लेख गरिएको छ।
तर, महालेखा परीक्षकको प्रतिवेदनले यस्तो सेवा खरिद गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लंघन भएको ठहर गरेको छ। नियमावलीको नियम ३१ अनुसार बीस लाख रुपैयाँभन्दा बढीको सेवा खरिद खुला प्रतिस्पर्धाको माध्यमबाट गर्नुपर्ने प्रावधान छ।
तर पालिकाले सो प्रावधानको पालना नगरी सांग्रिला इन्फर्मेटिक्स प्रा.लि. नेपालसँग सोझै सम्झौता गरी एकमुष्ट ३३ लाख २५ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको देखिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘सम्झौताका शर्तमा समेत प्रतिस्पर्धात्मक तरिकाले सेवा खरिद गर्नुपर्ने उल्लेख छ। तर पालिकाले विना प्रतिस्पर्धा सेवा खरिद गरेको देखिन्छ।’
महालेखाको ठहरमा सोझै खरिद गर्दा लागत अनुमानकै हाराहारीमा सम्झौता हुने भएकाले खरिद प्रक्रिया प्रतिस्पर्धाविहीन भएको र सार्वजनिक निकायले खरिदमा प्रतिस्पर्धा सीमित हुने कुनै पनि कार्य गर्नु नहुने स्पष्ट व्यवस्था विपरित कार्य गरिएको उल्लेख गरिएको छ। यसरी सार्वजनिक खरिद प्रक्रिया नअपनाई गरिएको उक्त सेवा खरिद कार्यलाई महालेखा परीक्षकले नियमविपरीत र आर्थिक अनियमितता ठहर गर्दै ३३ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको रकम अनियमित भएको औंल्याएको छ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा (रोकाया) नेकपा एमालेबाट निर्वाचित भएका हुन्।