खस्किंदै सिमेन्ट उद्योगको व्यापारः १३ कम्पनीले गुमाए ४ अर्ब २३ करोडको बजार, कुनको अवस्था कस्तो?

काठमाडौँ । सिमेन्ट उद्योगहरुले चार अर्बबढी रुपैयाँको व्यापार गुमाएको छ । वर्षदिनको अवधिमा मुलुकका १३ सिमेन्ट कम्पनीको कुल व्यापार ४ अर्ब २३ करोड १० लाख रुपैयाँले घटेको हो ।
रेटिङ एजेन्सीहरुबाट संकलित तथ्याङ्कअनुसार सन् २०२३ मा ३२ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेका यिनै कम्पनीहरुले सन् २०२४ मा मात्र २७ अर्ब ९० करोड रुपैयाँको व्यापार गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १३.१७ प्रतिशतले कम हो ।
देशको कुल व्यापार घाटा घटाउने पक्षमा रहेको सिमेन्ट उद्योगको यो अवस्था चिन्ताजनक मानिएको छ । खासगरी बढ्दो प्रतिस्पर्धा, बजारको अस्थिरता, निर्माण कार्यमा देखिएको मन्दी, बैंकको ऋण प्रवाहको कमी र सरकारले निर्माण कम्पनीलाई समयमा भुक्तानी नदिएको जस्ता कारणले सिमेन्ट उद्योगको व्यापार घट्न पुगेको विश्लेषण गरिएको छ ।
नेपालमा सिमेन्ट उद्योग पछिल्लो दशकमा तीव्र गतिमा विस्तार भएको छ । सन् २०२० यता मात्र कयौं नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आएका छन् भने पुराना उद्योगहरुले पनि उत्पादन क्षमता वृद्धि गरेका छन् । तर, मागले उत्पादनको साथ दिन नसक्दा धेरै कम्पनीहरुमा आर्थिक संकट देखा परेको छ । यस्तै, बजारमा प्रतिस्पर्धा चर्कंदै गएकाले पनि कम्पनीहरुले टिक्न मुस्किल परिरहेको छ ।
कयौं साना तथा मझौला सिमेन्ट कम्पनी गुणस्तर र ब्रान्डिङमा ध्यान नदिँदा बजारमा जमिन नसकेको र त्यसको सीधा असर व्यापारमा परेको उद्योगीहरु बताउँछन् । केही कम्पनी ऋणको भारी बोकेर सञ्चालन भइरहेका छन् भने धेरै कम्पनीको ऋण–पुँजी अनुपात ४।५ गुणासम्म पुगेको देखिन्छ । अर्थात्, तिनीहरुले आफ्नो पुँजीको तुलनामा झन्डै साढे चार गुणा बढी ऋण लिएका छन् । यसले गर्दा व्याज तिर्न मात्रै पनि ठूलो रकम छुट्याउनुपर्ने बाध्यता छ, जुन खुद नाफा घटाउने प्रमुख कारक बनिरहेको छ ।
अर्कोतर्फ, सिमेन्टको प्रमुख खपत हुने क्षेत्र निर्माण क्षेत्र पछिल्लो समय सुस्त रहेको छ । निजी र सार्वजनिक दुवै निर्माण कार्यमा गत वर्षको तुलनामा उल्लेखनीय कमी आएको देखिएको छ । त्यसैगरी, सरकारले निर्माण व्यवसायीलाई समयमा भुक्तानी नदिएपछि पनि ठेक्का कम्पनीहरुले कामको गति सुस्त बनाएका छन्, जसको असर सिमेन्टको मागमा परेको छ ।
यद्यपि सिमेन्ट उद्योगको दीर्घकालीन सम्भावनाबारे भने विशेषज्ञहरु आशावादी छन् । नेपालमा सिमेन्ट उत्पादनका लागि अत्यावश्यक कच्चापदार्थ चुनढुङ्गा प्रशस्त मात्रामा उपलब्ध रहेको, तथा पछिल्ला वर्षमा ठूला–ठूला परियोजनाहरुमा पनि स्वदेशी सिमेन्टको प्रयोग बढिरहेको सन्दर्भमा उद्योगको सुधारको आधार देखिन्छ । कुनै समय नेपाली सिमेन्टमाथि ठूला आयोजना र सरकारी विभागको विश्वास थिएन, तर हालका दिनमा नेपाली सिमेन्टकै भरमा प्रमुख विकास निर्माणका कामहरू अघि बढिरहेका छन् ।
विमानस्थल, जलविद्युत् आयोजना, बहु–तले भवन, पुल लगायतका ठूला परियोजनाहरुमा स्वदेशी सिमेन्ट नै प्रयोग भइरहेको देखिन्छ । आम सर्वसाधारणले घर बनाउँदा पनि नेपाली सिमेन्टलाई प्राथमिकता दिने चलन बढिरहेको छ । यो प्रवृत्तिले दीर्घकालीन रूपमा उद्योगलाई मजबुत बनाउने विश्वास गरिएको छ । सिमेन्ट उद्योगले छोटो समयमा फड्को मार्न सफल हुनुमा निजी क्षेत्रको योगदान उल्लेखनीय मानिएको छ । पछिल्ला वर्षमा अधिकांश ठूला व्यापारिक घराना सिमेन्ट उद्योगमा संलग्न भइसकेका छन् । निजी क्षेत्रको लगानी, व्यवस्थापन शैली र प्रविधिमा भएको लगानीले पनि उद्योगलाई सक्षम बनाउँदै लगेको छ । यसैको परिणामस्वरूप नेपाली सिमेन्टले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पुरा गर्न थालेको व्यवसायीको दाबी छ ।
यता, लोडसेडिङ अन्त्यपछि पनि उद्योगमा सकारात्मक संकेत देखिएको छ । नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनपछि उद्योगमा विद्युत आपूर्ति नियमित हुन थालेको व्यवसायीहरु बताउँछन् । विगतमा तत्कालीन निर्देशक कुलमान घिसिङ र केही उद्योगीबीच देखिएको मतभेदका कारण सिमेन्ट उद्योगले नियमित विद्युत् पाउन नसकेको आरोप लाग्दै आएको थियो । तर, हाल नयाँ नेतृत्व आएपछि उद्योगले नियमित विद्युत पाएको र यसले उत्पादन लागत घटाएको बताइएको छ ।
कुन कम्पनीको व्यापार कति ?
रेटिङ एजेन्सिहरुका अनुसार सन् २०२४ मा सर्वाधिक व्यापार गर्नेमा शिवम सिमेन्ट रहेको छ । कम्पनीले सो अवधिमा ७ अर्ब ७० करोड ४ लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा भने ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सर्वाधिक व्यापार गर्ने दोस्रो नम्बरमा रहेको मारुती सिमेन्टले सन् २०२४ मा ४ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । सन् २०२३ मा भने कम्पनीले ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

त्यस्तै, पाल्पा सिमेन्टको व्यापार २.३५ प्रतिशतले बढेर ४ अर्ब २२ करोड ६० लाख रुपैयाँ पुगेको छ भने युनाइटेड सिमेन्टले ३.४४ प्रतिशतले बढाएर २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
चौधरी ग्रुपबाट सञ्चालित सम्राट सिमेन्टको व्यापार साढे ४७ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ७७ करोडको मात्रै व्यापार गरेको हो ।
साथै, सोनापुर मिनल्सरको १ अर्ब ६४ करोड, शुभश्री अग्नी सिमेन्टको १ अर्ब ५९ करोड, भुर्गभ सिमेन्टको १ अर्ब ३९ करोड, सप्तकोशी सिमेन्टको १ अर्ब ३३ करोड, अग्नी सिमेन्टको ४० करोड, शिवम होल्डिङ्सको २३ करोड, आरएमसि सिमेन्टको २२ करोड र अम्बे सिमेन्टको १५ करोड रुपैयाँको व्यापार सन् २०२४ मा रहेको छ ।
सम्बन्धीत समाचारः
वर्षदिनमा युनाइटेड सिमेन्टको व्यापार साढे २ अर्ब, खानी र क्लिंकर बन्यो प्रतिस्पर्धी बजारको खेलाडी
गुणस्तर र विश्वसनीयतामा भरोसा जित्दै मारुति सिमेन्ट: पूर्वी बजारमा बलियो पकड, व्यापार धमाकेदार
संकटको भुमरीमा डुबेको शुभश्री अग्नि सिमेन्ट, २ अर्बको आइपीओले ऋण घटाउने रणनीतिमा
‘धेरै ऋण, कम आम्दानीः रणनीति अभावले बजार गुमाउँदै शुभश्री र अग्नी सिमेन्ट’
आरएमसी ग्रुप अन्तर्गतका दुई सिमेन्ट उद्योग संकटमा, अस्तित्व बचाउन संघर्षरत
वर्षदिनमा शुभश्री अग्नि सिमेन्टको १ अर्ब नाफा घट्यो, आर्थिक अवस्था संकटग्रस्त बन्दा ऋणभार बढ्दो
सप्तकोशी सिमेन्टको वित्तीय अवस्था दयनीयः वर्षदिनमा १ अर्ब आम्दानी खुम्चियो, ऋण भार बढ्दै













