चौधरी ग्रुपको सम्राट सिमेन्ट डुब्दैः चुक्ता पूँजीभन्दा ५ गुणा बढी ऋण, १ अर्ब ६० करोडको व्यापार खुम्चियो

काठमाडौँ । चौधरी ग्रुपको बहुमत लगानी रहेको सम्राट सिमेन्ट निरन्तर गम्भीर आर्थिक संकटतर्फ उन्मुख भएको छ । २०७८ सालमा ५१ प्रतिशत शेयर खरिद गरी चौधरी समूहले उद्योगमा बहुमत स्वामित्व हासिल गरेपनि त्यसपछि कम्पनीको आर्थिक स्थिति दिनप्रतिदिन कमजोर बन्दै गएको हो ।
हाल चौधरी ग्रुपको सम्राट सिमेन्टमा ७६ प्रतिशत चुक्तापूँजी रहेको भए तापनि व्यापार र नाफामा उल्लेखनीय गिरावट आएको छ भने ऋणको बोझमा लगातार वृद्धि भई कम्पनीको अस्तित्व नै जोखिममा परेको छ । आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँ कारोबार गरेको कम्पनीको व्यापार २०८०/८१ मा झण्डै ४७ प्रतिशतले घटेर १ अर्ब ७७ करोड १० लाख रुपैयाँमा सीमित भएको छ । यो अवधिमा सम्राट सिमेन्टले १ अर्ब ६० करोड ४० लाख रुपैयाँभन्दा बढी व्यापार घाटा व्यहोरेको छ । व्यापारमा भारि गिरावटले उद्योगको भविष्यलाई नै गम्भीर चुनौतीमा राखेको छ ।
साथै, सञ्चालन नाफा पनि उल्लेखनीय रुपमा घटेको छ । आर्थिक वर्ष २०७९/८० मा ६९ करोड ७० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको कम्पनीले आव २०८०।८१ मा ३७ करोड ९० लाख रुपैयाँ सञ्चालन नाफा सीमित गरेको छ । यसअवधिमा कम्पनीको नाफा ४५ प्रतिशतले घटेको छ ।
कम मुनाफा, धेरै ब्याज खर्च, र उच्च ऋण–निर्भर पुँजी संरचनाका कारण आर्थिक वर्ष २०८०।०८१ मा कम्पनीको खुद नाफा ३ करोड ५० लाख रुपैयाँ समिति भएको हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २,१९,७६० मेट्रिक टन मात्रै सिमेण्ट बिक्री गरेको हो । जुन आव २०७९।०८० मा कम्पनीले ३,४२,१७७ मेट्रिक टन बिक्री गरेको थियो । यता, क्लिंकर बिक्री पनि २०८०।०८१ मा ९,२५० मेट्रिक टन मात्र भयो, जुन २०७९।०८० मा ७१,५६८ मेट्रिक टन थियो ।
कम्पनीको कुल ऋण–इक्विटी अनुपात झन् झन् बिग्रिँदै गएको छ । आव २०७८÷७९ मा ३.९३ रहेको यो अनुपात २०७९÷८० मा ५.०९ र २०८०÷८१ मा ४.९८ पुगेको छ । कम्पनी अत्यधिक ऋणमा निर्भर छ र यसको दीर्घकालीन वित्तीय स्थिरता संकटग्रस्त छ ।
यसैगरी, चालू अनुपात पनि अत्यन्त कमजोर छ । २०७८/७९ मा ०.८१ रहेको चालू अनुपात २०७९/८० मा घटेर ०.५६ र २०८०/८१ मा ०.६४ मा सीमित भई कम्पनीसँग छोटो अवधिका दायित्वहरु तिर्न पर्याप्त सम्पत्ति छैनन् ।
कम्पनीले १२ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ ऋण लिएको छ, जसमा १० अर्ब १४ करोड ४७ लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ३५ करोड रुपैयाँ अल्पकालीन ऋण रहेका छन् । उच्च ऋण बोझले कम्पनीको आर्थिक अवस्था थप तनावपूर्ण बनाएको छ ।
सम्राट सिमेन्टले दाङ सतबरियामा १६ अर्ब रुपैयाँ लगानी गरी सन् २०७४ मा स्थापना भएको थियो र जर्मन प्रविधि प्रयोग गर्दै ओपीसी तथा पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले दैनिक ३ हजार ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता बढाएको भए पनि व्यापार घट्नुको कारण सो उपलब्धि पर्याप्त लाभमा परिणत हुन सकेको छैन ।
उद्योगले आफ्नो उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा मुख्य रूपमा कोइला आयात गर्दछ, जसको मूल्यमा बढोत्तरीले पनि कम्पनीलाई आर्थिक रूपमा प्रभावित बनाएको छ । सम्राट सिमेन्टले सात प्रकारका ब्रान्डहरू उत्पादन गरिरहेको छ, तर प्रतिस्पर्धात्मक बजारमा कम्पनीको बिक्री घट्नुको प्रमुख कारण भनेको मूल्य प्रतिस्पर्धा र बजारमा रहेका ठूला प्रतिस्पर्धीहरुको दबाव हो । बजारमा प्रतिस्पर्धीहरुबीच मूल्य घटाउने प्रतिस्पर्धाले सम्राटलाई बजार हिस्सा जोगाउन कठिन बनाएको छ, जसले गर्दा कम्पनीको नाफामा दबाव परेको छ ।
सम्राट सिमेन्टमा चौधरी ग्रुपका निर्वाण र वरुण चौधरी संचालक रहेका छन् भने अध्यक्ष अनिलकुमार रुंगटा छन् । उद्योगले उत्पादन क्षमता भए पनि बजारमा आफ्नो हिस्सा गुमाउन थालिसकेको छ । आर्थिक भार थपिँदै जाँदा यसको दीर्घकालीन स्थिरता संकटग्रस्त छ । कुल लागतको हिस्सामा पनि कमी आएको छ भने पनि कम्पनीले उत्पादन खर्च कम गर्न सकिरहेको छैन ।
समग्रमा, चौधरी ग्रुपले लगानी गरेको सम्राट सिमेन्ट अहिले गम्भीर आर्थिक संकटमा फसेको छ । व्यापार घट्ने, नाफा कम हुने, ऋण भार बढ्ने र बजार प्रतिस्पर्धामा पछि पर्ने क्रम जारी रहँदा उद्योगको अस्तित्व नै जोखिममा परेको देखिएको छ ।
अबैध कार्य गरिरहेको चौधरी ग्रुपलाई झड्का, चुनढुङ्गा उत्खनन कार्य रोकिएपछि स्थानीयको संघर्ष सफल