‘पूँजी बजार जोगाउन प्रिमियम मूल्यका आईपीओ तत्काल रोक्नुपर्छ’

दिपक विष्ट
१८ फाल्गुन २०८०, शुक्रबार १८:१५

काठमाडौँ । पूँजी बजारका लगानीकर्ताको निराशा थप बढ्दै गएको छ । शेयर बजारको ओरालो यात्राले लगानीकर्ताले अर्बौ रकम गुमाइसकेका छन् । बजार ओरालो लाग्नुको मुख्य दोषी भने लगानीकर्ताले नियामकहरुलाई नै भनेका छन्।

मौद्रीक नीतिको समीक्षामाथि लगानीकर्ताको ठूलो आशा थियो । तर, केन्द्रीय बैंकले लगानीकर्ताको आशामा चिसो पानी खन्याइदियो । नीतिगत रुपमा कुनै पनि सुधारको आवश्यकता महशुस गरेन । जसको निरन्तर मार खेपिरहेका छन्, लगानीकर्ता।

प्रिमियममा आईपीओ घातक

पछिल्लो समय शेयर बजारमा प्रिमियम मूल्यमा जारी गरिने आईपीओ घातक सावित भइरहेको अवस्था छ । एकपछि अर्को गर्दै निरन्तर प्रिमियममा आइरहेका आईपीओले लगानीकर्तालाई आतंकित तुल्याएको छ । मार्केट चलयमान हुने नहुने कुरा मुठ्ठीभर घरानाको हातमा पुगेको छ । जस कारण बजारको ओरालो यात्रा जारी छ।

नियामकहरु लगानीकर्ताको आशामाथि प्रहार गरिरहेका छन् । राष्ट्र बैंक लगानीकर्ताको मागप्रति मौनता साँधिरहेको छ । मौद्रीक नीतिको समीक्षाले लगानीकर्तालाई झन् संकुचनतिर धेकेलेको देखिन्छ । अर्थमन्त्रालयले समेत लगानीकर्ताको आग्रह सुनिरहेको छैन । लगानीकर्तासँग बजार बचाउन चुनौति थपिदै गएको छ । अर्बौ रकम गुमाएको अवस्थामा उनीहरु बजार बचाउने हो भने प्रिमियममा भइरहेको आईपीओ निष्कासनमा बे्रक लगाउनु पनेै बताइरहेका छन् । अनुमति पाएकाहरुलाई समेत खारेज गरेर मार्केट सुधारका लागि कदम चाल्नु पर्ने उनीहरुको भनाइ छ।

प्रिमियमको आईपीओले मनोबल घटायो

पूँजी बजारको खस्कँदो अवस्थालाई लिएर प्रिमियमको आईपीओले नै लगानीकर्ताको मनोबल थप घटाएको विश्लेषण हुन थालेको छ । शेयर बजारका पण्डितहरु भन्छन्, ‘सिमित घरानाले प्रिमियमको आईपीओ ल्याएर सर्वसाधारणलाई लुट्ने र शोषण गर्ने काम गरिरहेका छन् । कुनै कम्पनीहरुको शेयर मूल्य प्रिमियम भन्दा तल आएको थियो । सर्वसाधारणले क्षणिक रुपमा हेरिरहेका छन् । आईपीओ जुन मूल्यमा आए पनि आवेदन दिने गरेका छन् ।’ प्राइमरी बजार दोस्रो बजार भन्दा महँगिएको अवस्था छ । अहिले लाभांश समेत दिन सक्दैन, त्रैमासिक रिपोर्ट समेत खस्किदो छ त्यस्तो कम्पनीको ४.५ सयमा शेयर मूल्य किन्न लगाउनु भनेको नै सर्वसाधारणमाथि घोर अन्याय हो।

नियामकको नजर उल्टो

नियामकको नजर लगानीकर्ताको हकमा जहिले पनि उल्टो मात्र हुने गरेको छ । लगानीकर्ताले मौद्रीक नीति आउनुअघि बजार चलायमान बनाउनका निमित्त आग्रह गर्ने गरेका छन् । तर, नियामकले लगानीकर्ताको भावना विपरीत अर्थतन्त्रका औजारहरु ल्याइदिन्छ।

नियामक चनाखो र निर्णायक हुन आवश्यक छ । अब प्रिमियम मूल्यको आईपीओ खारेज नियामकको पहिलो काम हो । पावर भ्यालु निकाल्न दिनुपर्छ, तर त्यो भन्दामाथि मूल्य थपेर आईपीओ निष्कासन गर्न दिनु लगानीकर्ताको हितप्रतिकूल हुन जान्छ।

अहिले ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत छ । यसलाई १०० प्रतिशतसम्म झार्दा लगानीकर्ताले थोरै भए पनि राहत महशुस गर्छन् । विशेषगरी ५० लाख रुपैयाँभन्दामाथिका शेयर धितो कर्जामा जोखिमभार घटाउनु पर्ने तथा व्यक्तिगत तथा संस्थागत लगानीमा लगाइएको क्याप हट्नुपर्छ । यसो हुनसके मात्रै बजारमा सुधारको संकेत देख्न पाइन्छ।

तत्काल बजार बढ्ने संकेत छैन

लगानीकर्तामा छाएको निराशाका कारण तत्काल शेयर बजार बढ्ने संकेत देखिँदैन । थप लगानी गुम्ने त्राससँग जुधिरहेका छन्, लगानीकर्ता । केही नयाँ आईपीओले बजार २ हजार वा २२ सय विन्दुमा पुगेको देखिएको हो । आईपीओले धेरथोर बजार उचाले पनि मन्दी कायमै छ। वाणिज्य बैंकको शेयर मूल्य अहिले पनि १४० रुपैयाँमा पाइरहेको छ । वाणिज्य बैंकको शेयर मूल्य १८ सय विन्दुबाट शेयर बजार गुज्रिरहँदा समेत यस्तो सस्तो थिएन।

यसैबाट पनि बजार बढ्न नसकेको प्रष्ट हुन्छ । नियामकको नीति लगानीकर्तामैत्री कहिल्यै बन्न सकेन । सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने गफ दिइरहेको छ । तर, स्वदेशी लगानीकर्ता विश्वस्त पार्ने वातावरण बनाउन भने सकेको छैन । यो अवस्थामा विदेशी लगानीकर्ताले नेपालमा लगानी गरौं कसरी भन्न सक्ला ?

बैंक वित्तीय संस्थाविरुद्धको आन्दोलनको असर

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध भड्किएको आन्दोलनले समेत शेयर बजारमा असर पारेको छ । आन्दोलनको माहोलले शेयर बजारमा लगानी गर्नेहरुलाई विचलित गरिरहेको छ।

बैंक तथा माइक्रोफाइनान्स एनपीएल समेत बढ्दो क्रममा छ । वाणिज्य बैंकले ठूला घरानालाई पूँजीगत लोन दिन्छन् । तर, माइक्रोफाइनान्सले विनाधितो समूह (ग्रुप)लाई पूँजीगत लोन दिन्छन् । जहाँ अहिले सोही समूहको अगुवाइमा लोन नतिर्ने आन्दोलन मच्चिएको अवस्था छ। आन्दोलनले लघुवित्तको अवस्था विग्रिएको देखिन्छ।

केही बैंकहरुले ठूला घरानालाई विनाधितो ऋण दिएको देखिन्छ । यस हिसाबले केन्द्रीय बैंक समेतले यसमा मिलेमतो गरेको आशंका छ। नियामकले कस्नु पर्ने ठाउँमा कसेको देखिंदैन । नभए ठूलो पूँजी चलाउनेहरुले अर्बाै लोन लिन सक्ने तर साना लगानीकर्ताले घर जग्गा धितो राखेर पनि लोन नपाउने अवस्था किन देखियो ? यसकारण बैंकिङ्क र नियामक निकाय राष्ट्र बैंकमाथि प्रश्न उठिरहेको छ । त्यसविरुद्ध ऋणीहरु सडकमा आएका छन् । यसले बजारलाई प्रत्यक्ष र परोक्ष रुपमा असर गरेको छ।

(लगानीकर्ता दिपेन्द्र अग्रवालसँगको कुराकानीमा आधारित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*