१० जीवन बीमा र ८ निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी पुग्न बाँकी, कसले कसरी थप्दैछन ?

राजन कठायत
१० जेष्ठ २०८१, बिहीबार १७:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी जीवन बीमाका लागि पाँच अर्ब र निर्जीवन बीमाका लागि साढे दुई अर्ब पुर्याउनु पर्ने समय बितिसकेको छ । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनी र ८ निर्जीवन बीमा कम्पनीहरुले अझै पनि तोकिएको न्यूनतम् चुक्ता पुँजी पुर्याउन सकेको छैनन् । नियामक बीमा प्राधिकरणले एक वर्षभित्रैमा अर्बौ रुपैयाँ चुक्ता पुँजी थप्न दिएको अव्यवहारिक निर्देशनका कारण बीमा कम्पनीहरुले चाहेर पनि चुक्ता पुँजी थप्न सकिरहेका छैनन् ।

नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी पुर्याउनु भनेर सिर्जना गरेको आतंकका कारण नौ वटा जीवन बीमा र १० वटा निर्जीवन बीमासहित कूल १९ वटा बीमा कम्पनी मर्जरमा जाँदा समेत अधिकांशको चुक्ता पुँजी अझै पुगेको छैन । नेपाल राष्ट्र बैंकले पाँच करोडका वालेटहरुलाई पुँजी बृद्धिका लागि २०८५ सम्मको दीर्घकालिन र रणनीतिक योजना अघि सारेर पुँजी बृद्धि गराउँदा बीमा क्षेत्रमा भने हठात वर्ष दिनमा साढे दुई गुणाबढि पुँजी बृद्धि गर्ने निर्णय गएिको थियो । कार्यान्वयन पक्ष हेर्दै नहेरी गरिएको पुँजी बृद्धिको लक्ष्य पुरा हुन अझै समय लाग्ने देखिएको छ ।

चालू आर्थिक वर्ष ०८०र०८१ को तेस्रो त्रैमासम्ममा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५५ अर्ब रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा यस आवमा जीवन बीमा कम्पनीहरुको कूल चुक्ता पुँजी उल्लेख्य बृद्धि भएको छ । गत आवको यसै अवधीमा ४९ अर्ब ९२ करोड २० लाख रुपैयाँ रहेको चुक्ता पुँजी रहेकोमा चालु आवकोे तेस्रो त्रैमासमा ५५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ रहेको छ । निर्जीवन बीमा कम्पनीहरुको कुल चुक्ता पुँजी भने २५ अर्ब ६१ करोड रुपैयाँ छ ।

चुक्ता पुँजी बृद्धि भएपनि अझै १० वटा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पुरा हुन बाँकी छ । केही कम्पनीहरुले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने मौका पाए भने केहीले हकप्रदमार्फत शेयर बिक्री गरी चुक्ता पुँजी बृद्धि गर्ने अभियानमा रहेका छन् । यद्यपि पछिल्लो एक वर्षमा बीमा कम्पनीहरुको चुक्ता पुँजी उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

न्यूनतम् चुक्ता पूँजी पुर्याउन बाँकी भएका जीवन बीमा कम्पनीहरुको योजना के छ ?

१) एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सले बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन हकप्रद जारी गर्ने भएको छ । प्राधिकरणले कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिइसकेको छ । हाल ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ४२ प्रतिशत हकप्रदपछि ४ अर्ब ४८ करोड ५ लाख रुपैयाँ पुग्ने छ । बाँकी रहेको अपुग पुँजी कम्पनीले बोनस शेयरमार्फत पूर्ति गर्ने कम्पनीको योजना रहेको कम्पनीले जनाएको छ ।

२) एलआईसी नेपाल
एलआइसी नेपालले प्राधिकरणले निर्देश गरेको न्यूनतम चुक्ता पुँजी पुर्याउन ८८ प्रतिशत हकप्रद जारी गर्ने योजना अघि बढाएको छ । कम्पनीले १ः०.८८४५ को अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डले उक्त परिणाममा हकप्रद शेयर जारी गर्न अनुमति दिएमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुग्ने छ । अन्य बीमा कम्पनीलाई हकप्रद जारी गर्न बीमा प्राधिकरणले अहिलेसम्म यति ठूलो जारी अनुमति दिएको थिएन ।

छिमेकी मुलुक भारतको एलआइसी इण्डियाको मुख्य स्वामित्व रहेको कम्पनी भएका कारण एलआइसी नेपाललाई यति ठूलो अंकको हकप्रद जारी गर्न अनुमति दिएको हो । कारण कम्पनीले पुँजी बृद्धि योजनामा सहभागि हुन मर्जरको विकल्प र अन्य व्यवस्था लागु गर्न नपाउने भएका कारण कम्पनीलाई ५० प्रतिशत भन्दामाथि हकप्रद जारी गर्न अनुमति दिएको हो । एलआइसी हाल हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेको छ । पाँच अर्ब पु¥याउन कम्पनीलाई कुनै जटिल उपकरण प्रयोग गर्नुपर्ने अवस्था छैन ।

३) सूर्यज्योति लाइफ इन्स्योरेन्स
बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पु¥याउन सूर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । सूर्या लाइफ र ज्योति लाइफबीचमा मर्ज हुँदा पनि तोकिएको चुक्ता पुँजी नपुगेपछि उक्त कम्पनीले हकप्रद जारी गर्ने बाटोमा अघि बढेको जनाएको छ ।

४) प्रभु महालक्ष्मी लाइफ
न्यूनतम् चुक्ता पुँजीका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । बीमा प्राधिकरणले कम्पनीलाई १७ प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गरिसकेको छ । महालक्ष्मी लाइफ र प्रभु लाइफ मर्ज भई बनेको प्रभु महालक्ष्मीको चुक्ता पुँजी हाल ४ अर्ब २९ करोड ९६ लाख रुपैयाँ छ । कम्पनीले हकप्रद निष्काशन गरिसकेपछि प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुग्नेछ ।

५) सानिमा रिलायन्स लाइफ
सानिमा रिलायन्स लाइफले प्राधिकरणद्वारा निर्देशित न्यूनतम चुक्ता पुँजी पुर्याउन २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । उक्त हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ८ लाख रुपैयाँ पुग्नेछ ।

६) रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेर चुक्ता पुँजी चार अर्ब पुयाएको छ । कम्पनीले बाँकी रहेको १ अर्ब पुँजी अब बोनस शेयर जारी गरेर परिपूर्ति गर्ने कम्पनीले जनाएको छ ।

७) सिटिजन लाइफ

सिटिजन लाइफ इन्स्योरेन्सले जगेडा कोष र वितरणयोग्य मुनाफाबाट बोनस शेयर जारी गरी बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने योजना रहेको बताएका छन् । कम्पनीले उक्त कार्यको लागि आवश्यक प्रक्रिया वार्षिक साधारण सभाबाट पनि पारित गरिसकेको छ ।

८) राष्ट्रिय जीवन बीमा कम्पनी
राष्ट्रिय जीवन बीमा कम्पनीलाई प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन कठिनाई छैन । नेपाल राष्ट्र बैंक, नेपाल बैंक र अर्थ मन्त्रालयको स्वामित्व रहेको कम्पनी भएका कारण न्यूनतम चुक्ता पुँजी पुर्याउन कठिनाई नभएको बताइएको छ । यद्यपि यो निर्णय कार्यान्वयन गर्न वर्षौ लाग्न सक्नेछ । राष्ट्र बैंकले आफ्नो हिस्साको पुँजी उपलब्ध गराइसकेको छ भने नेपाल बैंक र अर्थ मन्त्रालयले समेत आपसी सम्वनय गरी आवश्यक पुँजी उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेका छन् । जसबाट कम्पनीको न्यूनतम चुक्ता पुँजी व्यवस्थापन हुनेछ ।

९) आइएमई लाइफ
समीक्षा अवधिसम्म आइएमई लाइफको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन आइएमई लाइफलाई अझै १ अर्ब रुपैयाँ जरुरी छ । आइएमई लाइफ इन्स्योरेन्सले प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन हाल कायम रहेको चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव पारितको लागि यही जेठ २८ गते वार्षिक साधारण सभा पनि आह्वान गरेको छ ।

१०) सन नेपाल लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्सले पुँजी वृद्धि योजनामा मर्जरको विकल्प प्रयोग नगरी पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी पुयाउने रणनीति लिएको छ । हाल कम्पनीको पुँजी वृद्धि तीन अर्ब २० करोड रुपैयाँ छ । कम्पनीले पुँजी वृद्धि योजनामा सहभागि हुनका लागि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आफ्नो सातौं वार्षिक साधारण सभाबाट पनि पारित गरिसकेको छ ।

निर्जीवन बीमा क्षेत्रमा पनि चुक्ता वृद्धि पुर्याउन ८ वटा कम्पनीको बाँकी रहेको छ । अधिकांश मर्जरमा गएका कम्पनीहरुको पनि पुँजी वृद्धि नपुगेपछि कतिपय पुराना कम्पनीका सञ्चालकहरु मर्जरप्रति पश्चताप गर्न थालेका छन् ।

निर्जीवन बीमा कम्पनीहरु
निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले न्यूनतम पुँजी वृद्धि २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । प्राधिकरणको निर्णय अनुसार ४ निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम पुँजी पुयाएका छन् । जसमा शिखर इन्स्योरेन्सको चुक्ता पुँजी प्राधिकरणले तोकेको अनुसार पहिले नै पुगिसकेको छ भने अन्य सबै कम्पनीहरुलाई मर्जर वा पुँजी थप आवश्यक थियो ।

सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये ३ कम्पनीले मर्जरमा गई प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याएका छन् । जस अन्तर्गत आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफुलाई पायक पर्ने कम्पनीसँग मर्ज गरेर आवश्यक चुक्ता पुँजी पु¥याएका हुन् ।

समीक्षा अवधिमा सबैभन्दा बढी चुक्ता पुँजी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको छ । यो कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ अर्ब ८० करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको २ अर्ब ६५ करोड रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २ अर्ब ६२ करोड रुपैयाँ छ ।

हकप्रद मार्फत चुक्ता पुँजी पुर्याउने योजनामा रहेका निर्जीवन बीमा कम्पनी

१) एनएलजी इन्स्योरेन्स
निर्जीवन बीमा कम्पनीहरुमध्ये एनएलजी इन्स्योरेन्सले सबैभन्दा बढी प्रतिशतमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयर निष्कासनपछि कम्पनीको पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

२) हिमालयन एभरेष्ट
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ छ । प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पु¥याउन कम्पनीले १२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विषयमा छलफल अघि बढाएको छ । सो १२ प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

३) नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बीमा प्राधिकरणले तोकेको न्यनतम चुक्ता पुँजी पु¥याउन कम्पनीले हकप्रद निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशन पश्चात कम्पनीको पुँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

४) सानिमा जिआईसी इन्स्योरेन्स
बीमा प्राधिकरणको नीतिले सबैभन्दा पहिले मर्ज भई बनेको सानिमा जीआईसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । उक्त हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

५) यूनाइटेड अजोड इन्स्योरेन्स
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । बीमा प्राधिकरणको निर्देशन अनुसारको न्यूनतम चुक्ता पुँजी पु¥याउन हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

६) नेपाल इन्स्योरेन्स
बीमा प्राधिकरणले तोकेको न्यूनतम चूक्ता पूँजी पुर्याउन नेपाल इन्स्योरेन्सले ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पु¥याउन कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

७) प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सले ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पु¥याउन कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीको बैशाख २८ गते सम्पन्न भएको २८औं वार्षिक साधारण सभाले उक्त हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

८) राष्ट्रिय बीमा कम्पनी
राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वमा रहेको कम्पनी हो । प्राधिकरणले तोकेको न्यूनतम पुँजी अर्थमन्त्रालयले नै आवश्यक समन्वय गरी जुटाइदिने भएको छ ।

यस बाहेक मेट लाइफ चुक्ता पुँजी नै नभएको विदेशी कम्पनी हो । त्यस्तै, नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स कम्पनी भारतीय बीमा कम्पनीका नेपालस्थित शाखा कार्यालय मात्रैको हैसियतमा कार्यरत रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*