छायाँदेवी कम्प्लेक्स सरकारी जग्गामाथि ठडिएको सर्वोच्चको ठहर, भत्काउन नदिन पाँडे समूहको दौडधूप सुरु

२९ चैत्र २०८०, बिहीबार १७:५१

काठमाडौं । ठमेल भगवानवहाल अगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर सरदार भीमबहादुर पाँडेकी धर्मपत्नी छायाँदेवीका नाममा निर्मित छायाँदेवी कम्प्लेक्स सार्वजनिक जग्गामा ठडिएको ठहर भएसँगै भत्किनबाट जोगाउन लगानीकर्ताको दौडधूप सुरु भएको छ ।

सर्वोच्च अदालतले अतिक्रमित जग्गा नेपाल सरकारको नाममा दर्ता कायम भएको श्रेस्ता भेटिएको र ती जग्गाहरु कुन स्रोतबाट कसको नाममा दर्ता कायम भई हाल कसको नाममा कायम भएको छ ? भनी गुठी संस्थान, मालपोत कार्यालय काठमाडौं र नापी कार्यालय काठमाडौंका नाममा आदेश दिएसँगै छायाँदेवी कम्प्लेक्स भत्किने लगभग पक्का भएको छ । यसैलाई लिएर अहिले छायाँदेवी कम्प्लेक्सका मुख्य लगानीकर्ता एवं बैंकर पृथ्वीबहादुर पाँडेसहितका व्यक्तिहरु दौडधूपमा लागेका हुन् । उनीहरु आर्थिक चलखेलदेखि शक्तिकेन्द्र धाउन थालेको निकटस्थहरुले बताएका छन् ।

कमल पोखरी मासेर छायाँदेवी कम्प्लेक्स बनाउन लागि पर्ने सुमनविक्रम पाण्डे अहिले सत्तामा रहेको पार्टी रास्वपाका नेता हुन् भने पृथ्वीबहादुर पाँडे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष हुन् । उनीहरु जसरी कमलपोखरी र विक्रमशील महाविहारको जग्गा मास्न लागि परेका थिए, त्यसरी अहिले छायाँदेवी कम्प्लेक्सको संरचना बचाउन लागि परेका छन् ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले गएको चैत २० गते ‘२०३३ सालमा भएको नापीपश्चात देखिन आएको काठमाडौं जिल्ला, साविक, काठमाडौं नगरपञ्चायत, वडा नम्बर २९ कित्ता नम्बर १६७, कित्ता नम्बर १०४०, कित्ता नम्बर १८७ कित्ता नम्बर २२२४, कित्ता नम्बर २२२९ र कित्ता नम्बर २४१३ का जग्गाहरु के कुन स्रोतबाट कसको नाममा दर्ता भई हाल कसको नाममा कायम भएको छ ? सोको विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मातपोत कार्यालय काठमाडौं र नापी कार्यालय काठमाडौंबाट झिकाउन आदेश दिएको थियो ।

यो आदेशबाट छायाँदेवी कम्प्लेक्स सार्वजनिक जग्गामा ठडिएको ठहर हुन्छ ।

आदेशमा ‘साविक कित्ता नम्बर १६७ र १०४० का जग्गाहरु मिति २०४४ मंसिर २३ मा नेपाल सरकारका नाममा दर्ता श्रेस्ता कायम भएकोमा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकाले के कसरी व्यक्तिका नाममा कित्ताकाट हुन गएको हो ? सो के विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मातपोत कार्यालय काठमाडौंबाट झिकाउनू’ भनी किटानसाथ भनिएको छ । यसको अर्थ सरकारको नाममा दर्ता कायम जग्गा व्यक्तिको नाममा दर्ता भएको सम्बन्धमा अदालत निष्कर्षमा पुगिसकेको र अन्तिम फैसलापश्चात सरकारी जग्गामा ठडिएको छायाँदेवी कम्प्लेक्स भारतको नोएडाका ट्वीन टावर भत्काइएजस्तै ध्वस्त पारिने पक्का भएको सम्पदाप्रेमीहरुले बताएका छन् ।

बैंकर पृथ्वीबहादुर पाँडेको अगुवाईमा ४३ जना व्यापारी एवं राजनीतिक दलका नेता कार्यकर्ताले ऐतिहासिक विक्रमशील महाविहार तथा कमलपोखरी मासेर व्यापारिक भवन छायादेवी कम्प्लेक्स निर्माण गरेको भन्दै ९ वर्ष पहिले दायर १५ वटा मुद्दाको अन्तिम सुनुवाई सर्वोच्चले फास्टट्रयाकमा हालिसकेको बताइन्छ । र, सम्पदाप्रेमीहरु अब छायाँदेवीका लगानीकर्ताको रुवाबासी चल्ने दिनको प्रतिक्षामा रहेका छन् ।

पाँडे गिरोहले २०५५ सालदेखि नै कमलपोखरी र राजगुठीको १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा मासेर छायाँदेवी कम्प्लेक्स बनाई सञ्चालनमा ल्याएको भन्दै अभियन्ता एवं अनुसन्धानकर्ता भागवतनरसिंह प्रधानले सर्वोच्चमा १२ वटा मुद्दा दायर गरेका थिए । उनले दायर गरेकासहित अदालतले १५ वटा मुद्दा एकैसाथ राखेर हेरिरहेको छ ।

सम्बन्धित समाचार

सर्वोच्चले खोल्यो ‘छायाँदेवी’ प्रकरणको फाइल, इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे र ‘घन्टी पार्टी’लाई टेन्सन सुरु

5 thoughts on “छायाँदेवी कम्प्लेक्स सरकारी जग्गामाथि ठडिएको सर्वोच्चको ठहर, भत्काउन नदिन पाँडे समूहको दौडधूप सुरु

  1. लाल्कृष्ण धमला says:

    खरावकाम कोही कसैवाट कहिल्यैपनी हुनुहुँदैन।त्यस्तो भयोभने राष्ट्रलाई हानीहुन्छ।

  2. लालकृष्ण धमला says:

    देशलाई हानीहुनेकाम कोहोकसैवाट कहिल्यैपनी हुनुहुँदैन।

  3. भगवान दास मानन्धर says:

    राजगुठि, बिक्रमशिल बाहारकाे कमल पाेखरी पवित्र स्थल हाे । याे राष्ट्रिय सम्पति हाे ।यसकाे संरक्षण गर्ने जिम्मा सरकारकाे हाे ।
    छाया देबि भट्काउनु अनिबार्य छ ।
    यस्ता कम्प्लेकस जता गयेर ठड्याय पनि हुन्छ, नियम ताेडि छलकपटकाे नतिजा , अब भट्कायेर तिर्नु पर्छ ।

  4. सक्कल बहादुर राई says:

    राष्टको हित बिपरित काम गर्ने माथि हदै सम्मको कारबाहि होस सरकारले खुट्टा कमाउनु हुदैना कार्यनवन होस।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*