सर्वोच्चले खोल्यो ‘छायाँदेवी’ प्रकरणको फाइल, इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे र ‘घन्टी पार्टी’लाई टेन्सन सुरु

२२ चैत्र २०८०, बिहीबार १७:०१

काठमाडौं । ठमेल भगवानवहाल अगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर सरदार भीमबहादुर पाँडेकी धर्मपत्नी छायाँदेवीका नाममा निर्मित छायाँदेवी कम्प्लेक्सले हडपेको सार्वजनिक जग्गाको फाइल फेरि ‘ओपन’ भएको छ ।
सर्वोच्च अदालतले छायाँदेवी कम्प्लेक्सले अतिक्रमण गरेको जग्गाको साविक लगत अनुसारको विवरण र मिसिल झिाउन आदेश दिएसँगै यस प्रकरणको फाइल फेरि ओपन भएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडाल सम्मिलित संयुक्त इजलासमा नियमित सुनुवाईमा रहेको छायाँदेवी कम्प्लेक्सविरुद्धको मुद्दाको सुनुवाईका क्रममा साढे २६ रोपनी क्षेत्रफलमा फैलिएको पोखरी र पोखरीको डिलसहित साविक लगत अनुसारको सम्पूर्ण विवरण र मिसिल झिकाउन मालपोत कार्याल डिल्लीबजार र नापी कार्यालयका नाममा आदेश जारी भएको छ ।

आदेशमा कित्ता नम्बर १६७ को क्षेत्रफल १२ रोपनी १३ आना १ पैसा २ दाममा सिमित गरिएको पोखरी मात्र नभई साविक लागतको कित्ता नम्बर १८३ अनुसार साढे २६ रोपनीमा फैलिएको पोखरीसहित त्यसको डिल मासिएको विषय छानविनको दायरामा ल्याउन उल्लेख छ ।

यस्तै, छायाँदेवी कम्प्लेक्सले ओगटेको जग्गामात्र नभई त्यस वरपर मासिएका जग्गाहरुको समेत १९६५ को साविक लागत अनुसारको विवरण र मिसिल सर्वोच्चले झिकाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष समेत रहेका बैंकर पृथ्वीबहादुर पाँडेको अगुवाईमा ४३ जना व्यापारी एवं राजनीतिक दलका नेता कार्यकर्ताले ऐतिहासिक विक्रमशील महाविहार तथा कमलपोखरी मासेर व्यापारिक भवन छायादेवी कम्प्लेक्स निर्माण गरेको भन्दै ९ वर्ष पहिले दायर १५ वटा मुद्दा सर्वोच्चमा अहिलेसम्म विचाराधीन छन् ।

यो प्रकरणमा हाल सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सुमन विक्रम पाण्डे, पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महत समेतको परिवार जोडिएको छ । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सार्वजनिक जमिन हडपेर घर संरचना बनाउनेलाई देखि सहन्न भन्दै आएका छन् । तर, दुर्भाग्य संघीय निर्वाचनमा कांग्रेस नेता अर्जुन नरसिंह केसीसँग टक्कर लिएका सुमन विक्रम पाण्डे उनकै ‘घण्टी’ पार्टीमा सक्रिय छन् ।

यो प्रक्रणमा पाँडे परिवारबाट बुहारी भित्र्याउने पूर्व अर्थमन्त्री डा. रामशरण महतको परिवार समेत जोडिएको छ । डा. महतका छोरा रक्षक महत कै नाममा छायाँदेवी कम्प्लेक्समा शेयर लगानी छ । रक्षक पेशाले कानून व्यवसायी हुन् भने छायाँदेवीका मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाँडे परिवारमा उनको ससुराली हो । रक्षक महतकी धर्मपत्नी पृथ्वीबहादुर पाँडेका दाईकी छोरी हुन् ।

पाँडेले २०५५ सालदेखि नै कमलपोखरी र राजगुठीको १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा मासेर छायाँदेवी कम्प्लेक्स बनाई सञ्चालनमा ल्याएको भन्दै अभियन्ता एवं अनुसन्धानकर्ता भागवतनरसिंह प्रधानले सर्वोच्चमा १२ वा मुद्दा दायर गरेका थिए । उनले दायर गरेकासहित अदालतले १५ वटा मुद्दा एकैसाथ राखेर हेरिरहेको छ । ९ वर्षदेखि हेर्न नमिल्ने र हेर्न नभ्याउनेमा पर्दै आएको छायाँदेवी विवादको मुद्दामा सर्वोच्चले २२ माघदेखि निरन्तर सुनुवाई गरिरहेको छ ।

सम्बन्धित समाचार

छायाँदेवी कम्प्लेक्स भत्किने पक्का, सर्वोच्चको फैसलाको प्रतिक्षामा सम्पदाप्रेमी

2 thoughts on “सर्वोच्चले खोल्यो ‘छायाँदेवी’ प्रकरणको फाइल, इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे र ‘घन्टी पार्टी’लाई टेन्सन सुरु

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*