नारायणघाट–बुटबल सडकको वैकल्पिक मार्ग पनि बन्द

९ असार २०८२, सोमबार ०९:४०

काठमाडौं । लगातारको वर्षासँगै पूर्वपश्चिम राजमार्गको आवागमन फेरि अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–३ आरुङखोलास्थित विनयी खोलाको डाइभर्सन बाढीले बगाएपछि सवारी चल्दै आएको वैकल्पिक बाटो समेत बन्द भएको हो ।

प्रहरीका अनुसार खरङगे खोलामा पानीको बहाव बढेपछि होङसी सिमेन्ट हुँदै सर्दी–दाउन्ने जान सकिने बाटो पनि अहिले प्रयोग गर्न मिल्ने अवस्थामा छैन ।

यसअघि यही वैकल्पिक बाटो प्रयोग गरेर ६ दिनसम्म रोकिएका १ हजार ८०० मालवाहक सवारी साधनलाई आइतबार मात्रै गन्तव्यतर्फ पठाइएको थियो ।

गत बिहीबार राति विनयी खोलाको डाइभर्सनबाट गइरहेको एक रात्रि बस खोलाले बगाएपछि सो क्षेत्र बन्द भएको छ । त्यसपछि डाइभर्सन मर्मत नगरी वैकल्पिक मार्गबाट नै आवतजावत हुँदै आएको थियो ।

सडक आयोजनाका अनुसार असार १६ गतेदेखि दुम्कीबासमा बनिरहेको नयाँ पुल सञ्चालनमा ल्याउने तयारी छ ।

हाल दाउन्ने सडक खण्ड चिप्लो भएपछि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मर्मतका लागि बन्द गरिएको छ भने हलुका सवारी साधन सर्दी हुँदै दाउन्ने निस्कने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*