हुण्डी कारोबारको ५२ बैंकका खाताबाट १ अर्ब बढी कारोबार गर्ने महिला पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएकी ज्योति शाहीलाई पक्राउ गरेको हो।
सीआईबीमा प्राप्त गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिमाथि अनुसन्धान तथा वित्तीय कारोबारको विश्लेषण गर्ने क्रममा शाही हुण्डी कारोबारमा संलग्न रहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा २०६८ भदौ १६ गते दर्ता भएको ‘शाही मनी ट्रान्सफर’ का नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोली कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा रहेका खातामार्फत करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विदेशमा विभिन्न असम्बन्धित व्यक्तिले आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई स–साना रकममा विभाजन गर्ने र कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त कारोबारबारे थप अनुसन्धानका लागि असोज ६ गते सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ। त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरान उपमहानगरपालिका–५, खैरेनीबाट शाहीलाई पक्राउ गरेको हो।
पक्राउ परेकी शाहीविरुद्ध हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर मा थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिएका छन्।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति तथा कारोबारको थप विवरणबारे समेत अनुसन्धान भइरहेको जनाएको छ।










