अफरोडको हिरो टुनल्यान्ड जि ७: नेपालमा धमाकेदार आगमन, कति छ मूल्य ?

९ असार २०८२, सोमबार १०:४९

काठमाडौं । विश्वकै पहिलोपटक २३ दिनभित्र आठवटा अग्ला र कठिन अफ-रोड भूभागहरू पार गरेर इतिहास रच्न सफल फोटोन टुनल्यान्ड जी ७ नेपालमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। राजधानीको पुलचोकस्थित ‘द प्लाजा’मा एक भव्य समारोहको आयोजना गरी फोटोनको अत्याधुनिक पिकअप गाडीको नेपाली यात्राको औपचारिक सुरुआत गरिएको हो।

नेपाल भित्रिनुअघि नै टुनल्यान्ड जी ७ ले करिब १५ हजार किलोमिटर लामो कठिन र साहसिक परीक्षण यात्रा पूरा गरिसकेको छ। यस परीक्षण यात्राले गाडीको शक्ति, सहनशीलता र कठिन भूगोलमा काम गर्न सक्ने क्षमताको स्पष्ट प्रमाण प्रस्तुत गरेको छ।

सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले फोटोनसँगको सहकार्यलाई नेपालका भौगोलिक चुनौतीहरूलाई मध्यनजर गरी गरिएको दीर्घकालीन सोचको परिणाम भएको बताए। उनले पछिल्ला पाँच वर्षमा नेपालमा १ हजार ५ सयभन्दा बढी फोटोन सवारीसाधन बिक्री भइसकेको जानकारी गराउँदै त्यसमा ५ सयभन्दा बढी पिकअप गाडी रहेको उल्लेख गरे। उनका अनुसार टुनल्यान्ड जी ७ को मर्मत खर्च बजारका अन्य विकल्पहरूको तुलनामा करिब २० प्रतिशत कम छ भने बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) मा कम्पनीले कुनै सम्झौता नगरेको दाबी गरे।

कार्यक्रमपछि पहिल्यै बुकिङ गरिसकेका ग्राहकहरूलाई गाडीको साँचो हस्तान्तरणसमेत गरिएको थियो।

फोटोन टुनल्यान्ड जी ७ नेपाली भूगोलका लागि विशेष रूपमा अनुकूलित गरिएको शक्तिशाली र आधुनिक पिकअप गाडी हो। २.० लिटर क्षमताको डिजेल इञ्जिनबाट १६० हर्सपावर पावर र ३९० न्युटन मिटर टर्क उत्पादन गर्न सक्षम यो गाडी २२५ मिलिमिटरको उच्च ग्राउण्ड क्लियरेन्ससहित अफ-रोड ट्रेल, उकालो चढाइ र उबड–खाबड बाटो सजिलै पार गर्न सक्षम छ। हिल होल्ड कन्ट्रोल र हिल डिसेण्ट कन्ट्रोल जस्ता विशेषताले कठिन भौगोलिक अवस्थाहरूमा समेत सुरक्षित र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ। साथै, पुश स्टार्ट बटन, इलेक्ट्रोनिक डिफरेन्सियल लकजस्ता अत्याधुनिक सुविधाहरूले यसको प्रयोगलाई थप सहज बनाउँछ।

गाडीको भित्री भाग पनि उच्चस्तरीय सुविधा र आरामले भरिपूर्ण छ। १२.३ इन्चको इन्फिनिटी टचस्क्रिन, १२ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक सिटहरू, तातो–चिसो प्रणाली, अटोमेटिक एयर कन्डिसनिङ र प्यानोरामिक सनरुफले यात्रुलाई अत्यन्तै आरामदायी अनुभव प्रदान गर्छ। यो पिकअपले केवल कार्यक्षमता मात्र होइन, यात्रालाई नै सुखद र स्मरणीय बनाउने विशेषता बोकेको छ।

नेपालमा फोटोन टुनल्यान्ड जी ७ तीन फरक भेरियन्ट  एलिट, लक्जरी र फ्ल्यागशिपमा उपलब्ध छ। यसको मूल्यक्रमशः ५१ लाख ९९ हजार रुपैयाँ, ६५ लाख ४० हजार रुपैयाँ र ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। साथै, ४×२ र ४×४ का फरक विकल्पहरूमा उपलब्ध यस गाडीमा बलियो डिजेल इञ्जिन, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी लगायतका सुरक्षा र सुविधा दिने विशेष फिचरहरू राखिएका छन्।

फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियलले विश्वस्तरीय प्रविधि र नवप्रवर्तनलाई नेपाली सडकमा प्रस्तुत गर्दै सधैँ बिक्रीपछिको सेवा, ग्राहक सन्तुष्टि र व्यवसायिक मूल्यलाई प्राथमिकता दिँदै आएको बताएको छ। टुनल्यान्ड जी ७ को सार्वजनिक घोषणा भएसँगै नेपाली बजारमा नयाँ उत्साह र ऊर्जा थपिएको छ। नेपाली भूगोल, मौसम र स्थानीय आवश्यकतालाई मध्यनजर गरी डिजाइन गरिएको यो पिकअप केवल गाडी मात्र होइन, लामो यात्रामा भरपर्दो सहयात्री बन्ने दाबी कम्पनीले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*