रासायनिक मल आपूर्तिका लागि २८ अर्ब ८२ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रासायनिक मल आपूर्तिका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले सो जानकारी दिएका हुन्।
मन्त्री अधिकारीका अनुसार विनियोजित बजेटबाट ६ लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखिएको छ। उनले भने, “अर्थ मन्त्रालयबाट सुनिश्चितता प्राप्त भइसकेको छ। आगामी आर्थिक वर्षमा आपूर्ति गरिने तीन लाख मेट्रिक टन मलका लागि टेन्डर आह्वान भइसकेको छ र सो अनुसारको मल आर्थिक वर्षको पहिलो त्रैमासिकभित्र आपूर्ति हुने अपेक्षा गरिएको छ।”
चालु आर्थिक वर्षको प्रगतिको विवरण दिँदै मन्त्री अधिकारीले हालसम्म २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजनमा ५ लाख ५० हजार मेट्रिक टन मल आयातका लागि टेन्डर भइसकेको जानकारी गराए। उनका अनुसार अहिलेसम्म ३ लाख ४५ हजार मेट्रिक टन मल आयात भइसकेको छ।
धान रोपाईंको सिजनलाई मध्यनजर गर्दै युरिया र डीएपी मलको व्यवस्थापनसमेत गरिएको मन्त्री अधिकारीले बताए। ‘धान रोपाईंका लागि ६० हजार मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डीएपी आवश्यक पर्नेमा, मौज्दातमा रहेको ६४ हजार मेट्रिक टन मल र आयातको प्रक्रियामा रहेको मलबाट आवश्यकताको पूर्ति हुने देखिन्छ’ उनले उल्लेख गरे।
सरकारले रासायनिक मलको दीर्घकालीन समाधानका लागि स्वदेशमै मल उद्योग स्थापनाको तयारीसमेत गरिरहेको मन्त्री अधिकारीले बताए। उनका अनुसार लगानी बोर्डको नेतृत्वमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी अध्ययन भइरहेको छ भने मन्त्रालयले आवश्यक राय, परामर्श र प्रक्रिया अघि बढाइरहेको छ।












