भिजिट भिसामा सुनपानी छर्कने चाल मान्दैनौंः ज्ञानेन्द्र शाही

काठमाडौं । प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणको छानबीन समितिको नाममा सुनपानी छर्कने चाल मान्य नहुने बताएका छन्।
उनले आज नयाँ बानेश्वरमा चलिरहेको संघीय संसदको बैठकमा बोल्दै सत्ताको नशामा सरकारले जनता बिर्सिएर आफूलाई भगवान सोचेको आरोप लगाएका छन्।
उनले बेचिएका नागरिक रास्वपा र राप्रपाका मात्रै नभएर सबै दलसँग आस्था भएका र नेपाली नागरिक भएको भन्दै यी नै नागरिकलाई बेच्ने अपराधमा सरकारले ढाकछोप गर्न खोजेको बताएका छन्। उनले विगत १८ वर्षमा गृहमन्त्री बनेका १४ जनालाई नै छानबीनको घेरामा ल्याउन माग गरेका छन्।
जसका विरुद्धमा छानबीन हुनुपर्ने उनीहरूले नै कर्मचारी राखेर छानबीन समिति बनाएको भन्दै उनले सरकारले अहिले बनाएको छानबीन समिति ‘दूधको साक्षी बिरालो’ भएको प्रतिक्रिया दिएका छन्।
पहेँलो हो भन्दैमा सुन पित्तल नहुने बताउँदै कर्मचारीको उच्चस्तरीय छानबीन समिति हो भन्दैमा छानबीन समिति नहुने बताएका छन्। सरकारले निष्पक्ष छानबीन गर्नुको सट्टा उल्टै अपराधलाई ढाकछोप गरेर दोषीलाई सुनपानी छर्कने चाल गरेको र यस्तो मान्य नहुने बताएका छन्।
यो छानबीन समितिले न्याय दिन नसक्ने उनले दाबी गरेका छन्। उनले सरकारले संख्याको हुर्मतमा भिजिट भिसा काण्डलाई नै निस्तेज पार्न खोजेको बताए। सरकारले यो देशमा रोजगार दिन नसकेपछि विदेश जान खोजेका नेपालीलाई समेत मानवता नै भुलेर अध्यागमनमै लुटेको प्रतिक्रिया दिएका छन्।













