कानुन मात्र बनाएर पुग्दैन, कार्यान्वयन र सामाजिक चेतनाको संयोजन आवश्यकः मीरा ढुङ्गाना

काठमाडौं । बरिठ अधिवक्ता मिरा ढुङ्गानाले कानुन निर्माण गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन नगरेसम्म समाजमा परिवर्तन सम्भव नभएको बताएकी छिन् ।
NALC Feminist Spark द्वारा आयोजित ‘Feminist Voice in Law: A Conversation with Meera Dhungana’ शीर्षकको विशेष कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको हो ।
कार्यक्रममा अधिवक्ता ढुङ्गानाले महिलामाथि भइरहेका आधुनिक प्रकारका हिंसा, सामाजिक संरचना र न्यायिक प्रणालीभित्रको लैङ्गिक असमानताका विषयमा विस्तृत विचार व्यक्त गरिन् ।
उनले भनिन्, ‘आजको दिनमा हिंसा केवल शारीरिक वा देखिने रूपमा मात्र हुँदैन। मानसिक, आर्थिक, साइबर वा सामाजिक बहिष्करणका रूपमा पनि महिलामाथि हिंसा भइरहेको छ, जुन प्रायः कानुनी रूपमा सम्बोधन हुन सकिरहेको छैन ।’
कार्यक्रममा उनले सामाजिक खाल्डो र न्याय प्रणालीबीचको दूरीको समेत चर्चा गर्दै समाज परिवर्तनका लागि व्यक्तिगत तथा सामूहिक प्रयासको खाँचो औंल्याइन् । ‘एक–एक जनाको आवाज मिलाएर बोल्दा मात्रै समावेशी र समानतामूलक समाजको निर्माण सम्भव हुन्छ ।’ उनले जोड दिइन् ।
कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा न्यायालयमा कार्यरत महिला कर्मचारी, कानुन विद्यार्थी, महिला अधिकारकर्मी र कानुन व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अन्तरक्रिया सेसनको सहजकर्ताको रुपमा प्रशना महत रेहकी थिइन् ।
कार्यक्रममा सहभागीहरूका अनुसार यस्तो खालको संवादले महिला अधिकार, न्याय र कानुनी पहुँचका विषयमा नयाँ दृष्टिकोण स्थापित गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।











