फेसबुकमा बैंक म्यानेजरको नक्कली परिचय बनाई ६२ लाख ठगी गर्ने मेहता पक्राउ

११ असार २०८२, बुधबार ११:०४

काठमाडौँ ।  सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्दै आएका एक व्यक्तिलाई भारतको भिमनगरबाट पक्राउ गरिएको छ। सुनसरीको देवानगन्ज गाउँपालिका–१ निवासी कुशेश्वर मेहताले फेसबुकमा ‘भिन्दा सुवन’ नामको फेक आइडी बनाएर करोडौंको सम्पत्ति नक्कली तरिकाले स्थानान्तरण गरिदिने बहानामा ठगी गर्दै आएका थिए।

प्रहरीका अनुसार मेहताले आफूलाई थाइल्याण्डको एक विदेशी बैंकको म्यानेजर भएको भन्दै नेपाली नागरिक कुर्मराज शाहीलाई सम्पर्क गरेका थिए। उनले शाहीलाई ‘एलेन अर्बी शाही’ नामका मृतक व्यक्तिको बैंक खातामा ठूलो रकम रहेको र मृतकको कुनै उत्तराधिकारी नभएकाले त्यस खातामा रहेको सम्पत्ति शाहीकै नाममा दिलाइदिने झुठो विश्वास दिलाएका थिए।

यसै आधारमा शाहीबाट पटक–पटक गरेर मेहताले ६२ लाख ७५ हजार २ सय रुपैयाँ उठाएको पाइएको हो। घटनाबारे उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाको नेतृत्वमा खटिएको टोलीले भारतको सीमावर्ती शहर भिमनगरबाट मेहतालाई पक्राउ गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*