देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी

९ आश्विन २०८३, शुक्रबार ०७:५८

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकोले आज अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित गहिरो न्यून चापीय क्षेत्र उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको तट पार गरिसकेको छ। उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भू–भागमा बादल लागेको छ। सुदूरपश्चिममा भने आंशिक बदली रहेको छ। कोशी, मधेश र बागमतीका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश भू–भागमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा तथा सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। अन्य पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने पनि पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर अधिकांश भू–भागमा बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रका अधिकांश स्थानमा तथा कोशी र सुदूरपश्चिमका हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने तथा मधेशसहित बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*