गुड्दा गुड्दै ईभी स्कुटरमा आगलागी

काठमाडौँ । गुड्दा गुड्दै प्योर ईभी स्कुटरमा आगलागी भएको छ। काठमाडौँको व्यस्त क्षेत्र रत्नपार्कमा स्कुटर चलाइरहेको बेलामा अचानक आगो लागेपछि स्थानीय र ट्राफिक प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। घटनामा मानवीय क्षति भने भएको छैन।
नेपाली बजारमा २ लाख ७५ हजार रुपैयाँमा बिक्री भइरहेको प्योर ईभी स्कुटर नेपालका लागि ह्वाइट लोटस मोटर्सले आयात तथा वितरण गर्दै आएको हो। तर, नेपालजस्तो भौगोलिक बनावट भएका स्थानका लागि कुनै पूर्व परीक्षण नगरी भित्र्याइएका यस्ता स्कुटरमा लगातार समस्या देखिन थालेको गुनासो उपभोक्ताबाट बढिरहेको छ।
रत्नपार्कको सडकमा अचानक स्कुटरबाट धुवा निस्किन थालेपछि केही क्षणमै आगोको रूप लिएको थियो।
यसअघि पनि विभिन्न ब्रान्डका विद्युतीय सवारीमा यस्ता समस्या देखिएकाले विद्युत सवारी साधनको सुरक्षामाथि प्रश्न उठ्दै आएको छ। तर, पछिल्लोपटक प्योर ईभी स्कुटरमा देखिएको घटनाले कम्पनीको सवारीको गुणस्तर र नेपालका लागि उपयुक्ततामाथि थप संशय पैदा गराएको छ।
उपभोक्ताहरूले स्कुटरको ब्याट्री, चार्जिङ सिस्टम र कुल प्रविधि नेपालका सडक र मौसमका लागि अनुकूल नभएको टिप्पणी गर्न थालेका छन्।













