सूचना लुकाएर ठेक्का प्रक्रिया मिलेमतो: झुट्टा बिलमार्फत एक लाख २९ हजार भुक्तानी

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया गैरकानुनी तरिकाले अघि बढाइएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा “Veterinary Office Building, Saptari” निर्माण कार्यका लागि आह्वान गरिएको बोलपत्र सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४(१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान विपरीत सूचना लुकाएर मात्र सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको थियो।
प्रेस काउन्सिल नेपालले समेत २०८२ जेठ २ गते पत्र पठाउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उक्त ठेक्कासम्बन्धी कुनै पनि सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित नगरेको पुष्टि गरेको थियो।
यसबाहेक, उक्त बोलपत्र प्रक्रियामा एक मात्र निर्माण व्यवसायीलाई रेस्पोन्सिभ घोषणा गर्दै आर्थिक प्रस्ताव खोलिएको पाइएको छ। अन्य प्रतिस्पर्धी निर्माण व्यवसायीहरूलाई प्रक्रिया बाहिर राखेर प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न नदिएको भन्दै उजुरीसमेत परेको थियो। सोही उजुरीका आधारमा थप अनुसन्धान गरिएको हो।
अनुसन्धानका क्रममा प्रतिवादीहरू आपसमा मिलेमतोमा लागेको र नियमविपरीत झुटा बिल बनाइ सरकारी खाताबाट एक लाख २९ हजार रुपैयाँ भुक्तानी लिएको प्रमाण फेला परेको आयोगले जनाएको छ।
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने उद्देश्यले सार्वजनिक पदको दुरुपयोग गरेको ठहर गर्दै अख्तियारले दोषी देखिएका सम्बन्धित व्यक्तिहरूमाथि आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।













