एक वर्षभित्र संस्थान बेचेर निजि क्षेत्रलाई दिने मन्त्री भण्डारीको उद्घोष

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अबको एक वर्षभित्र सरकारले संस्थान बेच्ने उद्घोष गरेका छन् । आइएमई ग्रुपले नेपालमै पहिलोपटक सुरु गरेको फाइबर सिमेन्ट बोर्ड उत्पादनको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले भने, ‘हामी अब प्रतिस्पर्धी बन्न चाहन्छौं। प्रतिफल दिन नसक्ने संस्थानलाई निजी क्षेत्रसँग सहकार्य गराएर अघि बढ्ने सरकारको योजना छ।’
उनले सरकारलाई गिज्याइरहेका संस्थानलाई अब सहकार्यको ढाँचामा रुपान्तरण गरिने स्पष्ट पारे। ‘हामीलाई अझै पनि हेटौंडा सिमेन्ट र चुरोट कारखानाको माया छ, तर तिनले परिणाम दिन सकेका छैनन्’ मन्त्री भण्डारीले भने, ‘त्यसैले अब निजी क्षेत्रसँग सहकार्य अनिवार्य छ।’
मन्त्री भण्डारीका अनुसार उद्योग क्षेत्रमा चुनौती र जोखिम उच्च भए पनि त्यसलाई चिर्दै अघि बढ्नुपर्ने आवश्यकतामा सरकार सचेत रहेको छ। उनले भने, ‘सरकारसँग निजी क्षेत्रले माग गर्ने मुख्य कुरा नीतिगत सुधार हो, जसतर्फ मैले सरकारमा आएसँगै प्राथमिकताका साथ काम गरिरहेको छु।’
आगामी आर्थिक वर्षको बजेटमा पनि निजी क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै उनले अझै प्रयाप्त काम गर्न बाँकी रहेको स्वीकार गरे। ‘वित्तीय क्षेत्रमा थुप्रै पूँजी बाँधिएको छ, त्यसलाई बाहिर ल्याएर लगानी गर्नुपर्छ’ उनले जोड दिए। नेपालको अर्थतन्त्र चलायमान बनाउन पूँजी मात्र होइन, उचित वातावरणको खाँचो रहेको भन्दै मन्त्री भण्डारीले नीति सुधार र लगानीमैत्री वातावरण तयार गर्न सरकार लागिपरेको बताए।
‘लगानीकर्ताको मनोबल बढाउन हामीले काम गरिरहेका छौं, आशाको दियो निभ्न दिनुहुन्न’ उनले स्पष्ट पारे। राजनीतिक कार्यकर्तालाई ‘झोले’ र व्यवसायीलाई ‘विचौलिया’ को दृष्टिले हेर्ने मानसिकता तोड्नुपर्ने आवश्यकता पनि उनले औंल्याए। ‘सरकार अब निजी क्षेत्रलाई यात्रि बनाएर अघि बढ्न चाहन्छ’ मन्त्री भण्डारीको भनाइ छ।
उनले उत्पादन वृद्धि र वस्तु निर्यातमा भइरहेको कठिनाइ चिर्न पनि सरकारको सक्रियता बढाइएको जानकारी गराए। ‘नेपालको पुँजी बजारलाई पनि चलायमान बनाउनु आवश्यक छ’ भण्डारीले भने।













