आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी

काठमाडौं । आज असार १२ गते देशभर मनसुनी प्रभाव सक्रिय रहेकाले मौसम आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेश प्रदेशमा आंशिक बदलीसहित मौसम प्रायः खुलेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना पनि रहेको विभागले जनाएको छ ।
साथै उच्च–पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । कोशी र मधेश प्रदेशका केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावनासमेत रहेको जनाइएको छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने देखिएको छ । उच्च–पहाडी र हिमाली भू–भागमा केही स्थानमा वर्षा वा हिमपातको सम्भावना छ भने कोशी र मधेश प्रदेशका केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्छ ।
मौसम खराब हुने सम्भावना रहेकाले नदी तथा खोलाको सतह बढ्न सक्ने, बाढी, पहिरो, भूक्षयलगायतका जोखिम बढ्न सक्ने जनाइएको छ । यसले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।











