एआई, उद्यमशीलता र रोजगारीमा बहस गर्न युवा उद्यमशीलता सम्मेलन हुँदै

७ आश्विन २०८३, बुधबार १८:४१

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को सहकार्यमा एआई, युवा उद्यमशीलता र रोजगारीको मुख्य विषयमा केन्द्रित भएर नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ । असोज २३ गते काठमाडौंमा आयोजना हुने सम्मेलनमा सहकार्यबारे सिबिफिन र एनबिआईबीच गत ५ गते, सोमबारका दिन समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी मुख्य नारा रहेको सम्मेलनमा तिन तहकै सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था र विभिन्न कुटनीतिक नियोगका उच्चपदस्त अधिकारीहरु सहभागी हुने कार्यक्रम रहेको छ।

समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा प्रविधिको उपयोगलगायतका विषयमा केन्द्रित हुँदै नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीहरूबीचको सम्बन्धलाई थप विस्तारित र व्यावसायिक बनाउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। उनले सिबिफिन र एनबिआईको यो सहकार्यले युवा उद्यमीहरूमाझ वित्तीय साक्षरताको अभिवृद्धि गर्न, डिजिटल बैंकिङको उपयोग बढाउन र जिम्मेवारपूर्ण कर्जा उपभोग गर्ने संस्कृतिको विकास गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने र बैंक तथा वित्तीय संस्थाका नवीन वित्तीय उत्पादनहरू लक्षित वर्गसम्म पुर्‍याउन र उत्पादनशील क्षेत्रमा सुरक्षित कर्जा लगानी बढाउन समेत ठूलो मद्दत पुग्न उल्लेख गरे ।

त्यसैगरी नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले देशको दिगो आर्थिक विकासका लागि युवाहरुलाई उत्पादन, रोजगारीमा केन्द्रित गर्नुपर्ने बताउदैं नीतिगत व्यवस्था, स्टार्टअपलाई बिउ पुँजी, युवाहरुले गरेका उद्यममा वित्तीय पँहुचलगायतका विषय बैंक तथा वित्तीय संस्थासँग सोझो सम्बन्ध भएकाले सिबिफिनसँगको सहकार्यले सम्मेलन थप प्रभावकारी हुने बताए ।

देशभरबाट ४०० उद्यमी(व्यवसायी र सरोकारवालाको सहभागिता रहने यस सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्र अनुकूल नीति निर्माण गर्न र लगानीको वातावरण सुधार गर्न स्पष्ट दिशाबोध गर्ने अपेक्षा गरिएको छ ।

मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो स्थितिमा रहेको र पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम रहेको विद्यमान अवस्थामा सिबिफिन र एनबिआईको पहलमा हुन गइरहेको यस सम्मेलनले उद्यमशीलता स्टार्टअप, नविन प्रविधि एवं नवप्रवर्तनीय क्षेत्रमा कार्यरत तथा सो क्षेत्रमा अग्रसर हुन खोजिरहेका उदयीमान युवा उद्यमीहरूलाई मार्गनिर्देश गर्ने र नेपालको वित्तीय क्षेत्रको दिगो विकास तथा युवा उद्यमशीलताको प्रवर्द्धनमा सम्मेलनले नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*