सूर्यज्योति लाइफका गौरव कुमार शाहीः कर्णालीमा बीमा व्यवसाय गरेर एकपछि अर्काे सफलता थप्दै

२ आश्विन २०८३, शुक्रबार १२:१०

काठमाडौं । जुम्लाको हिमा गाउँपालिका–१ बड्कीमा जन्मिएका गौरव कुमार शाही पछिल्लो समय नेपालगञ्जलाई कर्मथलो बनाएर बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । पश्चिम नेपालमा बीमाको पहुँच विस्तार गर्ने उद्देश्यसहित सक्रिय शाहीले छोटो समयमै उत्कृष्ट व्यवसाय गर्दै विभिन्न सम्मान तथा अवार्ड प्राप्त गरेका छन् ।

मेहनत, निरन्तरता र ग्राहकको विश्वासलाई सफलताको आधार मान्ने शाहीले बीमा क्षेत्रमा प्रवेश गरेको केही वर्षमै उत्कृष्ट व्यवसाय गर्न सफल भएका हुन् । त्यसयता उनले आफ्नो बीमा यात्रालाई निरन्तर अगाडि बढाउँदै विभिन्न विधामा सफलता हासिल गर्दै आएका छन् । स्टार एजेन्सी म्यानेजर शाही नेपालगञ्ज शाखा कार्यालय अन्तर्गत कार्यरत् छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सूर्यज्योति सजिलो भुक्तानी जीवन बीमा योजनाको प्रडक्ट एम्बास्डरका रूपमा उनी पाँच पटक चयन भइसकेका छन् । त्यस्तै उनी छ पटक मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्य बन्न सफल भएका छन् । सीओटी क्लबको सदस्यसमेत रहेका शाहीले एकै वर्षमा सूर्यज्योति रत्न अवार्ड र सूर्यज्योति ओजस्वी रत्न अवार्ड प्राप्त गरिसकेका छन् । उनी दीर्घ सेवा पदकबाट समेत सम्मानित भइसकेका छन् ।

सूर्यज्योतिले प्रदान गर्ने विभिन्न विधाका अधिकांश अवार्ड हासिल गर्न सफल शाहीले आर्थिक वर्ष २०८२/८३ मा देशभरका अभिकर्तामध्ये उत्कृष्ट व्यवसाय गर्दै सूर्यज्योति सजिलो भुक्तानी जीवन बीमा योजनाको प्रडक्ट एम्बास्डरको जिम्मेवारीसमेत प्राप्त गरेका छन् । यो उपलब्धिलाई उनले आफ्नो निरन्तर मेहनतसँगै ग्राहक तथा शुभेच्छुकको विश्वासको परिणामका रूपमा लिएको बताएका छन् ।

“सूर्यज्योतिमा विगत लामो समयदेखि काम गर्दै म जहाँसम्म आइपुगेको छु यो सबै कुरा यही इन्स्योरेन्सकै उपज हो,” उनी भन्छन् । उनका अनुसार बीमा व्यवसाय केवल आम्दानीको माध्यम मात्र नभई मानिसको आर्थिक सुरक्षा र भविष्यसँग जोडिएको महत्वपूर्ण क्षेत्र हो ।

शाहीले विशेषगरी युवालाई बीमा अभिकर्ताको पेशामा जोडिन आग्रह गर्दै यस क्षेत्रमा मेहनत र लगानीअनुसार आफूले चाहेको आम्दानी गर्न सकिने बताए । “मलाई घरपरिवार, गाउँसमाज र विशेषगरी कर्णालीका विकट क्षेत्रका बासिन्दाले गरेको विश्वासका कारण म यो ठाउँसम्म आइपुग्न सफल भएको हुँ ।” उनले भने ।

बीमा व्यवसायसँगै समाजसेवामा समेत रुचि राख्ने शाही कलाकारितामा पनि सक्रिय छन् । उनले दर्जनौँ म्युजिक भिडियोमा अभिनय तथा आफ्नो कलाकारिता प्रस्तुत गरिसकेका छन् । बीमाको पहुँच तुलनात्मक रूपमा कम रहेको पश्चिम नेपाल र कर्णालीका समुदायसम्म बीमासम्बन्धी चेतना विस्तार गर्ने आफ्नो अभियानलाई उनले आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*