उपत्यकाका १० व्यवसायमा विभागको कडाई: दुईलाई लाखौं जरिवाना, अन्यलाई निर्देशन

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका १० वटा व्यवसायमा अनुगमन गरेको छ । अनुगमनको क्रममा विभागले दुई व्यवसायलाई लाखौँ रुपैयाँ जरिवाना गरेको छ भने अन्यलाई विभागमा कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।
बुधबार गरिएको अनुगमनमा ‘रायन राजिल इन्टरनेशनल’ र ‘जय बालाजी टायर सेन्टर प्रा. लि.’ ले उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको पाइएपछि क्रमशः २ लाख ४० हजार र २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
त्यसैगरी, ‘निर्जरा ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि.’ लाई वस्तु बिक्री वितरणमा रोक लगाउँदै तीन दिनभित्र विभागमा कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।
‘प्रोटिन हाउस’, ‘भोलेनाथ स्क्रायाप सेन्टर’, ‘समित स्क्रायाप सेन्टर’, ‘ॐ इम्पेक्स’, ‘एस. एन. जोशी एण्ड सन्स कम्पनी प्रा. लि.’, ‘विष्णुलक्ष्मी इम्पेक्स’ र ‘स्ट्यान्डर्ड ट्रेडिङ्ग’ लाई पनि विभागमा हाजिर गराउन निर्देशन दिइएको छ।
विभागका अनुसार अनुगमनमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) र दफा ३९ को उपदफा १ (ख) उल्लङ्घन भएको पाइएकाले आवश्यक निर्देशन तथा कारबाही गरिएको हो।
विभागले व्यवसायीहरूलाई उपभोक्ताको हकहितको संरक्षण गर्न ऐन र नियमावलीअनुसार व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।














