डोल्पामा पहिरोले करिब ९८ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौं । डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्याएको छ ।बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका(४ रिवा गाउँमा पहिरो खसेको हो ।
गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले तीन वटा घर पूर्णरूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरोबाट करिब १ करोड ७३ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।
पहिरोले काईके गाउँपालिका(४ का २१ वर्षीय मनराज बिक, ३२ वर्षीय सुरेन्द्र बिक र ५० वर्षीय धनलाल बिकको घर पूर्ण रूपमा क्षति पुगेको उनले बताए । प्रारम्भिक अनुसन्धान अनुसार तीनैजनाको घरमा पूर्णक्षति पुग्दा करिब ३६ लाख मूल्य बराबरको क्षति पुगेको छ ।
आंशिक रूपमा १२ वटा घरहरूमा क्षति पुग्दा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने सामान्य रूपमा ४० वटा घरमा क्षति पुग्दा करिब ९८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
यसैगरी पहिरोले एक विद्यालयमा समेत क्षति पुर्याएको छ । पहिरोले रिवा गाउँस्थित पुथा आधारभूत विद्यालय भवन पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ।











