राजस्व अनुसन्धानबाट बिदा भए चण्डी घिमिरे

काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरे बिदा भएका छन्। १० महिनाको कार्यकाल पूरा गरी घिमिरे बिदा भएका हुन् ।
कार्यकाल सकिँदै गर्दा उनले आफ्नो नेतृत्वमा विभागले राजस्व चुहावट नियन्त्रण तथा विदेशी विनिमय अपचलनको अनुसन्धानमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेका छन्। महानिर्देशक घिमिरेका अनुसार आ.व. २०८१/८२ को जेठ मसान्तसम्म विभाग तथा मातहतका कार्यालयमार्फत राजस्व चुहावटसम्बन्धी १६० जना प्रतिवादीविरुद्ध ४८ वटा अभियोगपत्र उच्च अदालतमा दायर गरिएको छ। ती मुद्दामा कुल २ अर्ब ५९ करोड रुपैयाँ बिगो र सोही बराबरको जरिवाना गरी ५ अर्ब १९ करोड रुपैयाँ बराबरको मागदाबी गरिएको छ।
त्यस्तै, विदेशी विनिमय अपचलनसम्बन्धी अनुसन्धानमा समेत विभाग सक्रिय रहँदै आएको छ। घिमिरेका अनुसार हालसम्म १६१ जना प्रतिवादीविरुद्ध ११७ वटा मुद्दा दायर गरिएको छ। ती मुद्दामा १ अर्ब २६ करोड रुपैयाँ बिगो र ३ अर्ब ७८ करोड रुपैयाँ जरिवानासहित ५ अर्बभन्दा बढीको मागदाबी सम्बन्धित जिल्ला अदालतहरूमा गरिएको छ।
राजस्व अनुसन्धान विभागले पछिल्लो समयमा भन्सार चोरी पैठारी, मूल्याङ्कन हेरफेर, परिमाण गडबडी, ढुवानी प्रक्रियामा अनियमितता तथा नक्कली बिल प्रयोग गरी राजस्व छली गर्ने फर्म तथा कम्पनीहरूमा निगरानी बढाएको छ। विभागले प्राप्त सूचना तथा आन्तरिक विश्लेषणको आधारमा अनुगमन तीव्र पार्दै १ अर्ब १६ करोड रुपैयाँ धरौटी माग गरेको जनाएको छ।
जसअन्तर्गत ऐनको दफा १३क.(२) अनुसार सीमा भित्रको ५५ करोड १८ लाख रुपैयाँ राजस्व असुलीका लागि आन्तरिक राजस्व विभाग र भन्सार विभागमा लेखी पठाइएको छ।
घिमिरेका अनुसार उनले कार्यकालका क्रममा अनुसन्धान, अभियोजन, छलफल, अन्तर्क्रिया तथा गस्ती परिचालनजस्ता गतिविधि मार्फत विभागको कार्यसम्पादनलाई तथ्यमा आधारित र परिणाममुखी बनाउन योगदान दिएका छन्।
कुरियर सेवा, सुनचाँदी तथा बहुमूल्य धातुको अवैध कारोबार, नक्कली बीजकको प्रयोग, ब्रान्डेड मदिरा, भेप र जुत्ताजस्ता वस्तुको भन्सार चोरी पैठारी लगायतका विषयमा विभागले छानबिन तीव्र पारेको उनले बताएका छन्।
राजस्व अनुसन्धान विभागको सक्रियताले वैध व्यापारमा प्रोत्साहन र अवैध कारोबारमा नियन्त्रणको सन्देश गएको भन्दै घिमिरेले निजी क्षेत्रबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गरेका छन्।
के के गरे उनले काम ?















