अब युएईमा काम गर्न जाने नेपालीको अधिकतम तलब २ लाख ३९ हजार

काठमाडौं । अब संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारीको लागि जाने नेपाली श्रमिकलाई अधिकतम तलब २ लाख ३९ हजार रुपैयाँ बराबरको पारिश्रमिक पाउने भएका छन्।
नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै युएईमा काम गर्न जाने श्रमिकका लागि श्रेणीअनुसार न्यूनतम पारिश्रमिक तोकेको हो। मन्त्रालयले अबदेखि श्रम स्वीकृति दिने क्रममा तोकिएको न्यूनतम तलबभन्दा कममा स्वीकृति नदिने स्पष्ट पारेको छ।
श्रम मन्त्रालयको नयाँ सूचनाअनुसार युएईमा अयोग्य (अनस्किल्ड) श्रमिकको न्यूनतम तलब १ हजार संयुक्त अरब इमिरेट्स डिरहाम र खाना खर्चका लागि थप ४ सय डिरहाम मिल्नेछ। यो रकम नेपाली रुपैयाँमा करिब ५२ हजार बराबर पर्छ।
त्यसैगरी, अर्धदक्ष (सेमी स्किल्ड) श्रमिकलाई १ हजार २ सय डिरहाम तलब र ४ सय डिरहाम खाना खर्च गरी करिब ५९ हजार ८ सय रुपैयाँ बराबरको सुविधा दिने व्यवस्था गरिएको छ।
दक्ष (स्किल्ड) श्रमिकलाई १ हजार ५ सय डिरहाम तलब र ४ सय डिरहाम खाना खर्च हुने गरी कुल १ हजार ९ सय डिरहाम अर्थात् करिब ७० हजार रुपैयाँ बराबरको पारिश्रमिक तोकिएको छ।
उच्च दक्ष (हाइली स्किल्ड) श्रमिकका लागि भने ६ हजार डिरहाम तलब र ४ सय डिरहाम खाना खर्च गरी कुल ६ हजार ४ सय डिरहाम अर्थात् झण्डै २ लाख ३९ हजार रुपैयाँ बराबरको पारिश्रमिक व्यवस्था गरिएको छ।














