नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको सीईओमा सन्तोष कुमार भण्डारी नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कुमार भण्डारी नियुक्त भएका छन्।
कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं सीईओ पदमा सन्तोष कुमार भण्डारीलाई सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो।
यस अघि निज भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ बर्षभन्दा बढीको कार्य अनुभव भएका भण्डारी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व भएको कम्पनीले जनाएको छ।
नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ।











