महालेखापरीक्षकको कार्यालयको ६७औं वार्षिकोत्सव सम्पन्न

१५ असार २०८२, आईतवार १२:१२

काठमाडौं । मुलुकका सार्वजनिक निकायहरूको लेखापरीक्षण गर्ने सर्वोच्च निकाय महालेखापरीक्षकको कार्यालयको ६७औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यालयले आइतबार सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उपस्थितिमा वार्षिकोत्सव विशेष समारोह सम्पन्न गरेको हो ।

समारोहमा सभामुख देवराज घिमिरेले सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको भन्दै यसलाई सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । बेरुजु हुनै नदिने र हालसम्म कायम बेरुजुको फछ्र्योटलाई तीव्रता दिन पर्याप्त जनशक्ति व्यवस्थापनसँगै सम्बन्धित निकायका प्रमुख तथा लेखा उत्तरदायी अधिकारीले जिम्मेवारी बोध गर्नुपर्ने उनको भनाइ छ ।

सभामुख घिमिरेले बेरुजु घटाउन महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमार्फत दिइएका सुझाव कार्यान्वयन गरी आर्थिक अनुशासन पालना र जवाफदेहिता कायम गर्न आग्रह गरे । उनले संविधानले तोकेको जिम्मेवारी गम्भीरताका साथ पूरा महालेखापरीक्षकको कार्यालयलाई समेत आग्रह गरे ।

त्यस्तै, महालेखापरीक्षक तोयम रायाले महालेखाको क्षेत्राधिकार र संरचनाबारे जानकारी दिदै सरकारी निकायहरुले बेरुजु रकम न्यूनिकरणमा ध्यान दिन सुझाव दिएका छन् । उनले सम्पूर्ण स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

वर्षिकोत्सवमा विभिन्न खेलकुद कार्यक्रममा उत्कृष्ट भएका कर्मचारीलाई पुरस्कार वितरण गरिएको छ । त्यस्तै, पूर्व महालेखापरीक्षकहरुको सम्मान र उत्कृष्ट कार्य सम्पादन गर्दै आएका कर्मचारीलाई हौसला प्रदान गर्दै सम्मान गरिएको छ ।

तस्विरः राजन कठायत, बीमापोष्ट डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*