अन्तर्राष्ट्रिय सेमिनारमा सात प्रदेशका रैथाने खाना प्रदर्शन गर्दै मौलिक भान्साघरका सेफ

१५ असार २०८२, आईतवार १४:४६

काठमाडौं । फिलिपिन्समा हुने अन्तर्राष्ट्रिय सेमिनारमा नेपालको तर्फबाट मौलिक खाद्यान्न प्रवर्द्धन गर्दै आइरहेको मौलिक भान्साघरले सातवटै प्रदेशका रैथाने खानाको प्रदर्शनी गर्ने भएको छ। नेपालका मौलिक स्वादहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यले मौलिक भान्साघरका सञ्चालक सुमन दाहाल र सेफ बाशु सत्याल शुक्रबार फिलिपिन्स प्रस्थान गरेका हुन्।

उनीहरू दक्षिण कोरियाको ग्रामीण विकास प्रशासन (आरडीए) अन्तर्गत सञ्चालनमा रहेको एसियाली खाद्य तथा कृषि सहकार्य पहल (एएफएएफसीआई) द्वारा सञ्चालित एसियाली खाद्य संरचना तथ्यांकको गुणस्तर सुधार परियोजना (एएफसिडीं) अन्तर्गत आयोजना हुने २०२५ को प्राविधिक कार्यशालामा सहभागी हुन गएका हुन्। जुन २८ देखि जुलाई २ सम्म फिलिपिन्सको लोस बानोस शहरमा आयोजना हुने सो कार्यशालामा नेपाल, श्रीलङ्का र फिलिपिन्सका सेफहरू तथा खाद्य विज्ञहरूको सहभागिता रहनेछ।

 

नेपाल सरकार अन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय खाद्य अनुसन्धान केन्द्रले दाहाल र सत्याललाई नेपालको प्रतिनिधिका रूपमा मनोनयन गरेको हो। कार्यक्रममा सहभागीहरूले आ–आफ्ना देशका परम्परागत तथा मौलिक खानाका नमुना प्रस्तुत गर्ने, तिनको फोटोग्राफी तथा मिडिया अभिलेखीकरण गर्ने र प्रत्यक्ष पकाउने कार्यशाला सञ्चालन गर्नेछन्।

दाहाल र सत्यालले सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी विविध रैथाने परिकारहरू प्रस्तुत गर्ने तयारी गरेका छन्। ‘नेपाली रैथाने खानालाई अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत गर्न पाउनु हाम्रो लागि निकै खुसीको कुरा हो,’ सेफ दाहालले प्रस्थानअघि भने, ‘हाम्रो टिमले नेपाली खानाको मौलिकता र महत्व विश्वसामु प्रस्तुत गर्नेछ।’

किनेमा, याङगेन, भक्क्या, बगिया, यमरी, थकाली खाना, भुई वा डिग्री, माडा रोटी, कसार, ढिँडो सेटसमेतका खाना प्रदर्शनी गरिने भएको हो । नेपालका मौलिक स्वाद र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने यस प्रयासले रैथाने परिकारहरूलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*