भक्तपुर नगरपालिकाको २ अर्ब ४७ करोडको बजेट पारित, विकास र सहकार्यमा जोड

१५ असार २०८२, आईतवार १७:४४

काठमाडौँ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १८औं नगरसभाको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेट सर्वसम्मतिले पारित गरेको छ । नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको आगामी आवका लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक पनि समावेश गरिएको थियो । नगरसभाको छलफलपछि सबै सदस्यहरुको समर्थनमा बजेट पारित गरिएको हो ।

नगर प्रमुख प्रजापतिले सभामा सहभागी भई बजेटमाथि आफ्ना जिज्ञासा, सुझाव र समर्थन जनाउने सबै सभासद्‌लाई धन्यवाद व्यक्त गरे । उनले भक्तपुर नगरपालिकाको समृद्धि र विकासका लागि सबै जनप्रतिनिधि, कर्मचारी र नगरवासीको सहकार्य अपरिहार्य रहेको स्पष्ट पारे । नगर उपप्रमुख रजनी जोशीले बजेटमाथि उठेका प्रश्न र सुझावहरुमाथि स्पष्ट जवाफ दिँदै बजेटको सफल कार्यान्वयनका लागि सबैको साथ आवश्यक रहेको धारणा व्यक्त गरिन् । उनले भक्तपुरलाई नमुना नगर बनाउने संकल्पअनुसार नगरपालिकाले विगत वर्षहरुमा घाट व्यवस्थापन, खेलमैदान निर्माणलगायतका क्षेत्रमा बजेट विनियोजन गर्दै आएको स्मरण गराउँदै, केही चुनौतीका बाबजुद विकास योजनाहरु कार्यान्वयनमा निरन्तरता दिइने बताइन् ।

बजेट छलफलका क्रममा सभासद् तारादेवी शाक्य, हेरा ख्याजु, ज्ञानबहादुर मानन्धर, सिद्धिराम अवाल, इन्द्रबहादुर प्याठ, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, रामसुन्दर बासी, नारायणप्रसाद त्वानाबासु र पुरुषोत्तम तमखूले विभिन्न सुझावहरु सभामा प्रस्तुत गरे ।

उनीहरुले कमलविनायक बहुउद्देश्यीय भवन निर्माणको लागि बजेट छुट्याउनुपर्ने, वडागत बजेट भूगोल, जनसंख्या र आवश्यकता अनुसार बाँडफाँड गर्नुपर्ने, नगरमा रहेका वधशालाहरु व्यवस्थित गर्नुपर्ने, बालसेवक आधारभूत विद्यालयलाई पायक पर्ने स्थानमा स्थानान्तरण गर्न पहल गर्नुपर्ने, शिक्षक सम्मान कार्यक्रममा बजेट विनियोजन गर्नुपर्ने, शिशुस्याहार केन्द्रहरुलाई मन्टेश्वरी अवधारणामा सञ्चालन गर्नुपर्ने, सडक बत्ती मर्मतसम्भारमा बजेट छुट्याउनुपर्ने, नगरवासीलाई योजनाहरुबारे स्पष्ट जानकारी दिनुपर्ने, मंगलतीर्थ घाटस्थित दुब्येंकेगु ताहा फल्चा पुनःनिर्माण गर्नुपर्ने, सहकारी क्षेत्रको समस्यालाई कार्ययोजनासहित सम्बोधन गर्नुपर्ने, तथा भूकम्पबाट क्षतिग्रस्त भैरवको द्योछेँ र भद्रकाली द्योछेँको पुनःनिर्माणमा ध्यान दिनुपर्ने धारणा राखे ।

नगरसभाको आजको बैठकमा महालेखापरीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को भक्तपुर नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएको कर्मचारीको उपदानसम्बन्धी बेरुजु सन्दर्भमा लेखा समितिबाट प्रस्तुत बेरुजु समपरीक्षण सम्बन्धी प्रस्ताव पनि सर्वसम्मतिले पारित गरिएको छ । यसले नगरपालिकाले लेखापरीक्षणमा देखिएका विषयहरुप्रति गम्भीरतापूर्वक ध्यान दिँदै आएको संकेत गरेको छ ।

बैठकमा वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले हालै सम्पन्न चीन भ्रमण र अनुभव सुनाएका थिए । उनले नेपाली महावाणिज्य दूतावास, सिचाङ जचमैत्री संघको संयुक्त आयोजनामा ‘शेयर बिल्ड क्रिएट टुगेदर’ भन्ने मूल नारासहित चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) र नेपालका विभिन्न नगरपालिकाहरुबीच २०८२ असार १० गते ल्हासा सहरमा सम्पन्न कार्यक्रमको अनुभव प्रस्तुत गरे । सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको सन्दर्भमा नेपाली नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गर्न समन्वय गरिएको थियो । उनले यस प्रकारको अन्तराष्ट्रिय साझेदारीले नगरको विकासका नयाँ सम्भावनाहरु खोल्ने विश्वास व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*