सिमेन्ट र डन्डीको मूल्य घट्यो, अब निर्माण खर्चमा ठूलो बचत

१६ असार २०८२, सोमबार १५:३९

काठमाडौं । सिमेन्ट र डन्डीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीहरूले सिमेन्टको मूल्य प्रति बोरा करिब ५० देखि एक सय रुपैयाँसम्म र डन्डीको मूल्य प्रति केजी पाँच रुपैयाँसम्म घटाएका छन्।

यस पछाडि प्रमुख कारण उद्योगमा लोडसेडिङमा आएको कमी रहेको बताइएको छ । लोडसेडिङ घटेपछि उत्पादन सहज भएको छ भने मागमा पनि केही कमी आएपछि मूल्यमा समायोजन गरिएको हो।

उद्योगीहरू यसअघि बारम्बार लोडसेडिङका कारण उत्पादन लागत बढेर सिमेन्ट र डन्डीको मूल्य वृद्धि गर्न बाध्य थिए। नेपाल निर्माण व्यवसायी महासङ्घले पनि सिमेन्ट र डन्डीको मूल्य घटाएको पुष्टि गरेको छ।

पहिले ओपिसी सिमेन्टको मूल्य प्रति बोरा ६७५ देखि ८०० रुपैयाँ र पिपिसी सिमेन्ट ५५० देखि ६७५ रुपैयाँ रहेकोमा अहिले करिब एक सय रुपैयाँसम्म कम भएको छ। डन्डीको मूल्य पनि प्रति केजी ९०–९५ रुपैयाँबाट घटेर ८५–९० रुपैयाँमा कारोबार भइरहेको छ।

यसरी उत्पादन लागतमा कमी र बजार मागको परिवर्तनले निर्माण सामग्रीको मूल्यमा सहजता आएकोले उपभोक्ताहरूका लागि यो खुशीको विषय हुनसक्छ। साथै, यसले निर्माण क्षेत्रमा पनि केही राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*