त्रिभुवन विमानस्थल वरपरका होटल र व्यवसायमा अनुगमन, तीन फर्मलाई सवा सात लाख जरिवाना

१७ असार २०८२, मंगलवार १८:२६

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर सञ्चालनमा रहेका होटल, कफी शप र इन्टरप्राइजेजहरूमा अनुगमन गरेको छ । विभागले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको पाइएकाले विभिन्न व्यवसायहरूलाई जरिवाना तथा निर्देशन दिएको हो ।

विभागको आपूर्ति अनुगमन तथा सुवेनी का संरक्षण शाखाबाट मिति २०८२ साल असार १७ गते मंगलबारका दिन गरिएको अनुगमन निरीक्षणमा तीन वटा व्यवसायिक संस्थालाई जरिवाना गरिएको छ भने अन्य पाँच वटा व्यवसायलाई सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमनका क्रममा मनमय इन्टरप्राइजेज, ललितपुरलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ख) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनको दफा ३९ को १ (ख) अनुसार २ लाख ८० हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यस्तै, ईजि ट्रेड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दफा ३८ (ङ) अनुसारको कसुरमा २ लाख ६० हजार रुपैयाँ जरिवाना तिराइएको छ। साथै उक्त फर्मलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातहरूसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

एयरपोर्ट टी/कफी एण्ड कन्फेक्सनरी शप, त्रिभुवन विमानस्थललाई पनि ऐनको सोही दफाको उल्लङ्घन गरेकाले २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ र विभागमा तीन दिनभित्र उपस्थित हुन भनिएको छ।

अन्य अनुगमनमा परेका व्यवसायहरू जस्तै सोल्टी होटल लिमिटेड, ओरियन्टल होटल्स लिमिटेड, सान इन्टरप्राइजेज सर्भिसेज प्रा.लि., साई किरण इन्टरप्राइजेज, तथा प्रतिबुद्ध इन्टरप्राइजेज प्रा.लि. लाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। तीमध्ये प्रतिबुद्ध इन्टरप्राइजेजलाई सामान्य निर्देशन मात्र दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*