४४० मेगावाटदेखि ९ मेगावाटसम्म: पाँच आयोजना जोडिँदै राष्ट्रिय ग्रीडमा

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड जडान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मङ्गलबार आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।
सम्झौतापत्रमा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनियर सागर श्रेष्ठले आरपिजीसिएलको तर्फबाट हस्ताक्षर गरे भने एससी पावर कम्पनी प्रालि, सुर्मा सरोबर हाइड्रोपावर प्रालि, माता मालिका इनर्जी मल्टिपल प्रालि, सूर्य होल्डिङ प्रालि र हिमजल हाइड्रोपावर प्रालिका प्रतिनिधिहरूले आ-आफ्नो कम्पनीको तर्फबाट सम्झौतामा दस्तखत गरे।
कार्यक्रममा मन्त्री खड्काले यस्तो सहकार्यबाट नेपालले ऊर्जा क्षेत्रमा अगाडि सारेको रणनीति कार्यान्वयनमा गति प्राप्त हुने विश्वास व्यक्त गरे। उनले सही ढंगले लगानी व्यवस्थापन र प्रवर्द्धन गर्न सकेमा जलस्रोतले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे। ‘ऊर्जा क्षेत्रको प्रवर्द्धन र लगानी प्रणालीमा सुधार ल्याउने हो भने नेपालको समृद्धि सम्भव छ’ मन्त्री खड्काले भने, ‘यस्ता सहकार्यहरूले त्यो दिशा तय गर्न सहयोग पुर्याउनेछन्।’
समारोहमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य र विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले पनि सरकारको ऊर्जा विकास सम्बन्धी दीर्घकालीन लक्ष्य हासिल गर्न यस्ता समझदारी महत्वपूर्ण हुने धारणा राखे। सरकारले सन् २०३५ सम्मको ऊर्जा लक्ष हासिल गर्न प्रसारण प्रणाली सुदृढ गर्नु प्रमुख प्राथमिकताका रूपमा लिएको उल्लेख उनीहरूले गरे।
सम्झौतामा समावेश आयोजनाहरूमा विभिन्न क्षमताका जलविद्युत् परियोजनाहरू रहेका छन्। कालिकोटस्थित तिला–१ जलविद्युत् आयोजना ४४० मेगावाट क्षमताको छ, जसलाई एससी पावर कम्पनीले प्रवर्द्धन गरेको हो। त्यसैगरी, बझाङमा निर्माण हुने ५४ मेगावाटको महाकाली–सेती अर्धजलाशययुक्त आयोजना सुर्मा सरोबर हाइड्रोपावरको परियोजना हो। त्यही जिल्लामा माता मालिका इनर्जी मल्टिपलले प्रवर्द्धन गर्ने मालुमेला सेतीनदी पिकिङ आयोजना ७२ मेगावाट क्षमताको छ।
त्यसैगरी, ताप्लेजुङमा निर्माण हुने ३१.९२ मेगावाटको अपर मेवा खोला ‘ए’ आयोजना सूर्य होल्डिङले प्रवर्द्धन गरेको हो भने गोरखास्थित ९.४३ मेगावाटको सुपर दरौदी आयोजना हिमजल हाइड्रोपावर कम्पनीको परियोजना हो।













