खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गर्न महत्वपूर्ण योगदान पुग्ने छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भइरहेको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रमा सहभागी हुनु भएका मन्त्री यादवले सो कुरा बताएका हुन् ।
सम्मेलनमा नेपालको राष्ट्रिय प्रतिबद्धता—सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्ने—बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको तथा सन् २०२२ को मन्त्रीस्तरीय सम्मेलनमा देखिएका कमजोरीहरू सुधार गर्दै, अहिले उच्च राजनीतिक तहबाट प्रभावकारी कार्यान्वयनको दिशा तय गरिएको मन्त्री यादवले जानकारी दिए ।
‘नेपाल सन् २०१९ मा खुला दिसामुक्त राष्ट्र बनेको सफलताले प्रमाणित गरेजस्तै, अबको लक्ष्य सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाइ सेवा सुनिश्चित गर्नु रहेको छ ।’ उनले भने, ‘अन्य देशहरूको अनुभवबाट सिक्दै नेपालले समेत तीव्र प्रगति गर्ने रणनीति अवलम्बन गरेको छ ।’
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालले खानेपानी तथा सरसफाइ क्षेत्रमा अगाडि बढाएको यो प्रयास राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उदाहरणीय बन्ने मन्त्री यादवले विश्वास व्यक्त गरेका छन् ।
‘विकासका लागि वित्तीय स्रोतहरूको सुनिश्चितता र प्रभावकारी परिचालन नहुँदासम्म खानेपानी तथा सरसफाइ क्षेत्रमा देखिएका संरचनागत चुनौतीहरू समाधान गर्न कठिन छ ।’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु सहभागी हुनु भएको यो सम्मेलनले हाम्रो राष्ट्रिय प्रयासलाई थप सशक्त बनाउने र दीगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक दीर्घकालीन लगानी, सार्वजनिक–निजी साझेदारी र अन्तर्राष्ट्रिय सहयोगलाई थप मजबुत बनाउनेछ ।’













