भारतमा ग्यासको मूल्य घट्यो, नेपालमा मूल्य नघटाई उपभोक्तालाई थपिदै भार

काठमाडौँ । भारतको सरकारी स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मंगलबारदेखि व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यासको मूल्य घटाएको छ। कम्पनीले भारतमा प्रतिसिलिन्डर ५८ रुपैयाँ ५० पैसाले मूल्य घटाएसँगै दिल्लीमा ग्यासको नयाँ मूल्य १६६५ भारतीय रुपैयाँ पुगेको छ। यसअघि उक्त मूल्य १७२३ रुपैयाँ ५० पैसा थियो।
यो पछिल्लो समायोजनअघि एक महिनाअघि अर्थात् जुन १ मा पनि प्रतिसिलिन्डर २४ रुपैयाँले मूल्य घटाइएको थियो। एलपी ग्यासको मूल्यमा भारतमा क्रमिक रूपमा गिरावट आइरहेको अवस्थामा आईओसीले सोमबार साँझ नेपाल आयल निगमलाई पनि नयाँ मूल्य सूची पठाएको थियो। नयाँ सूचीमा निगमलाई व्यवसायिक ग्यासको मूल्य प्रतिसिलिन्डर ५१ रुपैयाँले घटाएर पठाइएको थियो।
तर, नेपाल आयल निगमले भारतबाट घटेर आएको मूल्यलाई यथावत् राख्दै उपभोक्तालाई राहत नदिने निर्णय गरेको छ। उल्टै निगमले पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्यमा वृद्धि गरेको छ।
निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएको दाबी गर्दै आए पनि ग्यासमा भने विगतमा भएको घाटालाई कारण देखाउँदै मूल्य नघटाइएको तर्क गर्दै आएको छ।













