दलाई लामाको उत्तराधिकारीबारे अभिव्यक्तिमा चीनको कडा असन्तुष्टि

१९ असार २०८२, बिहीबार १३:२०

काठमाडौं । तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो निधनपछि पनि आफ्नो उत्तराधिकारी तोकिने अभिव्यक्ति दिएकोमा चीनले कडा असन्तुष्टि जनाएको छ।

भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाको पछिल्लो भनाइपछि चिनियाँ विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै तिब्बती धर्मगुरुको पुनर्जन्मका सम्बन्धमा चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो।

चिनियाँ पक्षले दलाई लामाको उत्तराधिकारी छान्ने प्रक्रिया कुनै व्यक्तिको व्यक्तिगत इच्छा अनुसार नभई चीनको कानुन, धार्मिक विधि र परम्पराअनुसार हुनुपर्ने उल्लेख गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ताले दलाई लामाको उत्तराधिकारी चयनका लागि ऐतिहासिक रूपमा प्रचलित चिठ्ठा प्रणालीलाई मान्यता दिँदै सुनौलो कलशबाट चिठ्ठा तानेर पहिचान गरिनुपर्ने बताएका छन्। सन् १९७२ मा शुरू भएको यो प्रक्रिया पछिल्ला लामा गुरुहरू चयनमा समेत प्रयोग गरिएको जनाइएको छ।

तर आलोचकहरूले भने चिनियाँ अधिकारीहरूले यस प्रक्रियालाई नियन्त्रण र हस्तक्षेपको माध्यम बनाएको आरोप लगाउँदै आएका छन्। यद्यपि चीनले यस्ता आरोपलाई खारेज गर्दै उक्त प्रक्रिया तिब्बती बौद्ध धर्मको मौलिक विशेषता भएको दाबी गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*