बिवाईडीको ‘सिलायोन ७’ शुक्रबारदेखि नेपाली बजारमा: ५०० किलोमिटर रेन्ज , कति पर्ला मूल्य ?

१९ असार २०८२, बिहीबार १३:३२

काठमाडौँ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी बिवाईडीको नयाँ एसयूभी मोडल ‘सिलायोन ७’  नेपाली बजारमा शुक्रबारदेखि बिक्रीमा आउने भएको छ। बिवाईडीका लागि नेपालमा आधिकारिक वितरक साइमेक्स इन्कले गत वर्ष नाडा अटो शोमा सार्वजनिक रुपमा प्रदर्शनीमा राखिएको यो मोडललाई अब आधिकारिक रूपमा बजारमा ल्याउने तयारी पूरा गरेको हो।

४.८ मिटर लम्बाइ भएको यो इलेक्ट्रिक एसयूभीमा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने ८२ किलोवाट–आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ। एकपटक फुल चार्ज गरेपछि यो गाडीले ५०० किलोमिटरभन्दा बढी यात्रा गर्न सक्ने कम्पनीको दाबी छ, जुन रेन्ज नेपाली बजारका अन्य इभीहरूसँग तुलना गर्दा निकै प्रतिस्पर्धात्मक मानिन्छ।

सिलायोन ७ मा यात्रालाई अझै सहज र प्रविधिमैत्री बनाउन १५.६ इन्चको रोटेड टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र हेड अप डिस्प्ले जडान गरिएको छ। साथै, पानारोमिक ग्लास सनरुफ, एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचरले प्रयोगकर्ताको अनुभवलाई थप उचाइमा पुर्‍याउने कम्पनीको विश्वास छ।

गाडीमा सुरक्षा फिचर पनि उच्चस्तरको राखिएको छ। यसमा ६ वटा एयरब्याग, अगाडि र पछाडि पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, राडर प्रणाली, मल्टिपल क्यामेरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, फ्रन्ट र रियर क्रस ट्राफिक अलर्ट, ट्राफिक साइन रिकग्नाइजेसन, डोर ओपन वार्निङ तथा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम जस्ता फिचर समावेश छन्, जसले चालक तथा यात्रु दुबैको सुरक्षामा विशेष ध्यान दिएको देखिन्छ।

साइमेक्स इन्कका अनुसार सिलायोन ७ को मूल्य ७२ लाखदेखि ७५ लाख रुपैयाँको बीचमा रहनेछ। उन्नत प्रविधि, उच्च सुरक्षा, लामो रेन्ज र आकर्षक डिजाइनका साथ आएको यो गाडी नेपाली बजारमा बीवाइडीको उपस्थिति अझ बलियो बनाउने कम्पनीको अपेक्षा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*