‘युके पठाइदिन्छु’ भन्दै एक करोड २० लाख ठगी गर्ने प्रभाष पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक प्रस्ताव देखाउँदै युके पठाइदिन्छु भनेर ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई एक करोड २० लाख ४४ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
रिसालले विभिन्न व्यक्तिहरूलाई उच्च तलब र सुविधा हुने भन्दै युके पठाइदिने प्रलोभनमा पारी रकम उठाएका थिए। युके जान चाहने पीडितहरूसँग रकम संकलन गरी उनी सम्पर्कविहीन बनेपछि पीडितहरूले उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर–४, एकान्तकुनाबाट बुधबार पक्राउ गरेको हो।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनले वैदेशिक रोजगारीका नाममा झुटा आश्वासन दिँदै ठगी गरेको पुष्टि भएको जनाएको छ। उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।













