सिट्रोन सी३ बिक्री हुनै सकस, बजार पाउन कम्पनीको मूल्य घटाउने रणनीति

१९ असार २०८२, बिहीबार १८:०७

काठमाडौँ । नेपाली अटो बजारमा अपेक्षा अनुरूप सफल हुन नसकेको सिट्रोन ब्रान्ड फेरि एकपटक चर्चामा आएको छ । कमजोर बिक्रीसँग जुझिरहेको सिट्रोनले “ह्याचब्याकको दममा एसयूभी” भन्ने नारासहित सिट्रोन सी३ गाडीको मूल्यमा भारी कटौतीको घोषणा गरेको छ ।

पहिले ३६ लाख ५० हजार रुपैयाँमा बिक्रीमा रहेको सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयूभी हाल २९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने घोषणा गरिएको छ । मूल्य घटाउने निर्णय पछाडि बिक्री घट्दो क्रममा पुगेको स्पष्ट संकेत देखिन्छ । नेपाली बजारमा ग्राहक सिट्रोन सी३ मा आकर्षण कम हुँदै गएपछि कम्पनीले विविध अफरमार्फत बजार आकर्षित गर्न खोजेको छ ।

भारतमा निर्माण गरिएको सिट्रोन सी३ मा १२०० सीसी क्षमताको पेट्रोल इन्जिन, १० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल साइड मिरर जस्ता सुविधाहरू उपलब्ध गराइएको छ । यद्यपि, यी फिचरहरू अन्य प्रतिस्पर्धी ब्रान्डहरूले पहिल्यै उपलब्ध गराइरहेका छन्, जसले गर्दा सिट्रोनले भिन्न पहिचान बनाउन नसकेको विश्लेषण गरिएको छ ।

ग्राहकको चासो घट्दै गएपछि कम्पनीले मूल्य कटौतीका साथै निःशुल्क बीमा सुविधा पनि दिने घोषणा गरेको छ । तर, बजारको समग्र प्रवृत्तिमा हेर्दा मूल्य घटाएर मात्र बिक्री वृद्धि हुने सम्भावना न्यून देखिन्छ ।

हाल नेपाली अटो बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको अवस्थामा, गुणस्तरीय उत्पादन र सशक्त बिक्रीपछिको सेवा विना दीर्घकालीन सफलता पाउन चुनौतीपूर्ण रहेको स्पष्ट देखिन्छ । सिट्रोनको पछिल्लो रणनीति बजारमा जोगिन गरिएको अस्थायी प्रयास जस्तो देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*