खराब कर्जाको बढ्दो भारले बैंक प्रणाली संकटतर्फ, गभर्नरले दिए मौद्रिक नीति व्यापक फेरबदलको संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा खराब कर्जा बढ्दै गएका कारण बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व-मौद्रिक नीति छलफल कार्यक्रममा गभर्नर पौडेलले प्राथमिकताका रूपमा लिइएका कृषि तथा एसएमई क्षेत्रमै कर्जाको अवस्था बिग्रिँदा मौद्रिक नीतिले समग्र अर्थतन्त्रमा प्रभावकारी सुधार ल्याउन चुनौती थपिएको बताए। उनका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउँदा यिनै क्षेत्रमा देखिएको खराब कर्जा समस्या समाधानलाई केन्द्रमा राखिनेछ।
‘हामीले बढी कर्जा प्रवाह होस् भन्ने चाहेका कृषि र साना तथा मझौला उद्यम क्षेत्रमा नै खराब कर्जा बढेको छ,’ उनले भने, ‘यो समस्यालाई कसरी समाधान गर्ने भन्नेमा हामी बढी केन्द्रित हुनुपर्ने देखिन्छ।’
गभर्नर पौडेलले अहिलेको मौद्रिक प्रणालीमा एकातिर धनी र ठूला व्यवसायीहरू र अर्कोतिर कृषक तथा साना उद्यमीहरूको दुईवटा फरक समूह बनाउने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे। ‘अस्थिरताका बेला सबै क्षेत्र प्रभावित हुन्छन्, त्यसैले सबैलाई समेट्ने नीतिगत व्यवस्था हुनुपर्छ,’ उनले स्पष्ट पारे, ‘कर्जा सबैको पहुँचमा पुग्नुपर्छ, ऋणमा सबैको हक हुनुपर्छ।’
उनले मौद्रिक नीतिले मात्रै देशको समग्र अर्थतन्त्रको सुधार सम्भव नरहेको पनि बताए। हाल देखिएको आर्थिक समस्याको समाधानका लागि सरकारको नेतृत्वमा वित्त नीतिले ठूला पूर्वाधार क्षेत्रहरू— ऊर्जा, सडक, पुल आदिमा लगानी विस्तार गर्नुपर्ने उनको धारणा थियो।
‘यो समस्या मौद्रिक नीतिले मात्र समाधान गर्न सकिँदैन, यसमा समन्वय चाहिन्छ,’ गभर्नर पौडेलले भने, ‘वित्त नीति अग्रसर हुनुपर्छ, लगानी विस्तार हुनुपर्छ।’













