रसुवागढी नाका बन्द, चीनसँगको व्यापार अवरुद्ध

काठमाडौं । गएराति तिब्बत क्षेत्रमा परेको भीषण वर्षासँगै आएको बाढीका कारण नेपाल–चीन सीमास्थित रसुवागढी नाकाको मितेरी पुल बगाएको छ। यसका कारण रसुवा हुँदै चीनसम्मको सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको भन्सार यार्डमा रहेका करीब १५० सवारीमध्ये धेरैजसो विद्युतीय (इभी) गाडीहरू बाढीले बगाएको छ। ड्राइपोर्ट क्षेत्रमा कार्यरत केही चालक र मजदूर समेत बेपत्ता भएका छन्। उनीहरू बाढीमा परेका हुनसक्ने आशंकामा खोजी कार्य जारी छ। बाढीले रसुवा भन्सार क्षेत्रमा ठूलो संरचनात्मक क्षति र्पुयाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान करिब ३ बजेर १५ मिनेटमा रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका अन्तर्गत पर्ने मितेरी पुलमा क्षति पुगेको हो। त्यसपछि बिहान ४ बजे टिमुरे भन्सार यार्डमा बाढी पसेर केही मालबाहक कन्टेनर समेत बगाएको छ।
हालसम्म मानवीय क्षति नभएको बताइएको भए पनि नदीमा पानीको बहाव अझै उच्च रहेकाले तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ। पुल, सडक र भन्सार यार्डमा क्षति पुगेकाले रसुवागढी नाका अस्थायी रूपमा बन्द गरिएको छ। यसको प्रत्यक्ष असर नेपाल–चीन व्यापारमा परेको छ भने राजस्व संकलन पनि प्रभावित हुनेछ।
२०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएकोमा करीब ढाई वर्षअघि मात्र पुनः सञ्चालनमा आएको थियो। तर सो नाकाबाट अहिले पनि ठूला परिमाणमा सामान आयात–निर्यात भइरहेको छैन।
मुख्य आयात केन्द्रको रूपमा रहेको रसुवागढी नाका बन्द हुँदा नेपालले वैकल्पिक रूपमा भारतको कलकत्ता नाका प्रयोग गर्नुपर्ने बाध्यता देखिएको छ। यसले चिनियाँ सामानको ढुवानी समय र लागतमा उल्लेखनीय वृद्धि गराउने देखिन्छ।











