मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष यादव घुस सहित पक्राउ

काठमाडौं । रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनार्दन यादव ३ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्।
वडाध्यक्ष यादवले वडाको विभिन्न योजनाहरूको निर्माण काम सकिएपछि दिने भुक्तानी सिफारिसका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरेका थिए।
बार्गेनिङपछि उनले ३ लाख रुपैयाँ घुस लिएर सिफारिस गरिदिने भनि सेटिङ मिलाएर बिचौलियालाई घुस लिन पठाएका थिए। वडाध्यक्ष यादवले सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री गणेश ट्रेडिङका संचालक विपिन कुमार पाण्डेयलाई बिचौलिया बनाएर घुस रकम लिन पठाएका थिए।
वडाध्यक्ष यादवले पठाएको बिचौलिया पाण्डेयलाई ३ लाख रुपैयाँ घुस लिइसकेपछि तत्कालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट गएको टोलीले पक्राउ गरेको हो। अख्तियारले बिचौलियासँगै घुस लिन पठाएका वडाध्यक्ष यादवलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूलाई असार २३ गते पक्राउ गरिएको हो।
उनीहरू दुवैजनालाई नियन्त्रणमा लिएर सो घुस काण्डको छानबिन गरिरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।











