डाक्टर सडकमा, बिरामी छटपटीमा

२४ असार २०८२, मंगलवार १३:३७

काठमाडौं । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरू सोमबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेर सडकमा उत्रिएपछि अस्पताल पुगेका विरामीहरू छटपटीमा परेका छन्। देशभरका ठूला अस्पतालमा ओपिडी सेवा बन्द हुँदा नियमित उपचारमा भर पर्ने विरामीहरू अन्योल र हैरानीमा छन्।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायतका ठूला अस्पतालहरूमा सोमबार बिहानैदेखि ओपिडी कक्ष सुनसान रह्यो। लामो समयदेखि उपचार गराइरहेका, रिपोर्ट देखाएर औषधि थप्नुपर्ने, नयाँ समस्या लिएर आएका, अपोइन्टमेन्ट लिएकासबै किसिमका विरामीहरू सेवाविहीन बनेका छन्।

न निजी अस्पतालमा डाक्टर छन्, न सरकारी अस्पतालमा। सरकारीदेखि निजी अस्पतालसम्मका चिकित्सकहरू उपभोक्ता अदालतको फैसला विरुद्ध एकै स्वरमा आन्दोलित छन्। उनीहरूको नेतृत्व नेपाल चिकित्सक संघले गरिरहेको छ।

अदालतले केही साताअघि तीनवटा अस्पताल र तिनमा कार्यरत चिकित्सकहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो। सोही फैसलापछि डाक्टरहरू आन्दोलित बनेका हुन्। उनीहरू फैसला अन्यायपूर्ण र नियोजित भएको आरोप लगाउँदै छन्।

सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएको चिकित्सक समुदायले देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गराएको छ। चिकित्सकहरूको यो आन्दोलनले उपचारका लागि अस्पताल धाउने विरामीहरूलाई अप्ठ्यारोमा पारेको छ।

ओपिडी सेवा ठप्प हुँदा नियमित उपचार लिने, औषधि परामर्श गर्न आउने, विशेषज्ञसँग भेटघाट तय गरेर आएका विरामीहरू बिनाकारण फर्किनु परिरहेको छ। रिपोर्ट हातमा लिएर ओपिडी कक्षको चक्कर काट्नेहरू दिनभर ओझेलिए।

डाक्टरहरू सडकमा उत्रिएर न्यायको माग गरिरहेका छन्, तर उनीहरूको आन्दोलनकै कारण हजारौं विरामी उपचारबाट बञ्चित छन्। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवामा देखिएको यो गतिरोधले नागरिक जीवन कष्टकर बनाएको छ।

अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालय र आन्दोलनरत चिकित्सकहरूबीच वार्ताको पहल हुने संकेत देखिएको छैन। आन्दोलन कहिलेसम्म जारी रहने हो, अझै अत्तोपत्तो छैन। त्यसैले अहिले अस्पताल पुग्ने विरामीको भाग्यमा अन्योल, पीडा र छटपटी मात्र छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*