तिब्बतमा भारी वर्षाको चेतावनी, भोटेकोशी–सुनकोशी आसपास बाढीको उच्च जोखिम

२४ असार २०८२, मंगलवार १७:३७

काठमाडौँ । छिमेकी मुलुक चीनको तिब्बत क्षेत्रअन्तर्गत पर्ने न्यालममा वर्षा तीव्र भइरहेको र राति थप भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी प्राप्त भएपछि भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बाढीको उच्च जोखिम रहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ।

चिनियाँ अधिकारीबाट आएको सूचनाका आधारमा संभावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले नदी किनारमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो। साथै, अरनिको राजमार्गको बन्देउदेखि लिपिङसम्मको खण्डमा सवारी साधन सञ्चालन गर्दा पनि उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारीका सहायक गणेश नेपालीले असार २४ गते सूचनामार्फत नदी किनार तथा राजमार्ग प्रयोग गर्ने सबैलाई जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्।

यसैबीच, यसअघि मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सिमानामा पर्ने ल्हेन्दे खोलामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति गराएको छ। उक्त घटनामा २० जना अझै बेपत्ता छन् भने ५५ जनालाई जिवितै उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये ५१ पुरुष र ४ महिला छन्।

बाढीका कारण सयभन्दा बढी सवारीसाधन बगाएको प्रारम्भिक रिपोर्ट छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली हाल पनि घटनास्थलमा खोजी तथा उद्धारमा खटिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*