आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलायो

काठमाडौं । उपभोक्ता अदालतको फैसलाको विरोधमा आन्दोलनरत नेपाल चिकित्सक संघलाई सरकारले वार्ताका लागि बोलाएको छ। स्वास्थ्य सेवा ठप्प पारेर गरिएको आन्दोलन अन्त्य गर्ने विषयमा मंगलबार साँझ सरकार र संघबीच संवाद हुन लागेको हो।
प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरासिया र उद्योगमन्त्री दामोदर भण्डारी सम्मिलित सरकारी टोलीले संघका पदाधिकारीसँग वार्ता गर्नेछ।
नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारीले तीनवटै मन्त्रालयबाट वार्ताका लागि मौखिक रूपमा बोलाइएको जानकारी दिए। उपभोक्ता अदालतले दुई साताअघि एक चिकित्सक र अस्पताललाई क्षतिपूर्ति तिराउने फैसला गरेपछि संघ आन्दोलित भएको हो।
उक्त फैसला र उपभोक्ता संरक्षण ऐनका प्रावधानले चिकित्सकलाई अन्यायमा पारेको भन्दै संघले आइतबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी आन्दोलन सुरु गरेको हो।













