उपल्लो मुस्ताङमा बाढीले दुई पक्की पुल बगायो, थप चारवटामा क्षति

काठमाडौं । मंगलबार साँझ उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ खोलामा आएको भीषण बाढीका कारण कम्तीमा ६ वटा पुलमा क्षति पुगेको छ। करीब तीन घण्टासम्म लगातार बगिरहेको लेदोसहितको बाढीले दुईवटा पक्की मोटरेबल पुल पूर्णरूपमा बगाएको हो।
बाढीले लोमान्थाङ–४ को चुम्जुङ खोलामा रहेको एक पक्की पुल र लोमान्थाङ–२ स्थित साम्जुङमा निर्माणाधीन अर्काे एक पुल पूर्ण रूपमा क्षति गरेको प्रहरी कार्यालयले जनाएको छ। यस्तै फलामे पुल सहित तीन वटा काठेपुल समेत बगाएको छ।
बाढीका कारण खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल जोखिममा परेपछि त्यहाँका नागरिकलाई तत्कालै सुरक्षित स्थानमा सारिएको छ। त्यसैगरी न्याम्डो गाउँका दुई घरका बासिन्दाहरूलाई पनि अन्यत्र सारिएको छ।
प्रहरीका अनुसार बाढीले हालसम्म मानवीय वा पशुचौपायामा कुनै क्षति पुर्याएको छैन। यद्यपि थप जोखिम नहोस् भन्नका लागि सुरक्षाका दृष्टिकोणले इलाका प्रहरी कार्यालय छोसेर र सशस्त्र प्रहरी बल बीओपी नेचुङबाट संयुक्त रूपमा ९ जनाको टोली परिचालन गरिएको छ।
स्थानीय बासिन्दालाई खतराको सूचना सहित सर्तक रहन आग्रह गरिएको छ। अहिले बाढीको बहाव केही कम भए पनि पूर्ण रूपमा जोखिम नटरेकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालयले पनि अनुरोध गरिरहेको छ।
यसअघि पनि प्रशासनले सम्भावित बाढीको पूर्वानुमान गर्दै मङ्गलबारदेखि नै सतर्कता अपनाउन आग्रह गरेको थियो।













