टेलिकमको ‘एफटीटीएच’ सेवा ८ घण्टा बन्द हुने

२५ असार २०८२, बुधबार १५:५४

काठमाडौं । नेपाल टेलिकमले ललितपुरको पाटन कार्यालयअन्तर्गतका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेको ‘फाइबर टू द होम’ (एफटीटीएच) सेवा मर्मतका लागि आज राति मर्मत तथा सम्हार कार्य गर्न लागेको छ।

टेलिकमका अनुसार साउन २५ गते बुधबार राति ११ बजेदेखि भोलिपल्ट साउन २६ गते बिहान ६ बजेसम्म मर्मत कार्य सञ्चालन हुने भएकाले उक्त अवधिमा इन्टरनेट, टेलिफोन र टिभी सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्नेछ।

एकान्तकुना, थसिखेल, महालक्ष्मी स्थान लगायतका क्षेत्रमा सेवा प्रवाह हुने एफटीटीएच नेटवर्कमा नियमित आन्तरिक मर्मत गर्न लागिएको टेलिकमले जनाएको छ।

सेवा अवरुद्ध हुँदा ग्राहकलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै टेलिकमले यसबारे समयमै जानकारी गराइएको स्पष्ट पारेको छ। साथै, यदि निर्धारित समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा सेवा पनि यथाशीघ्र पुनः सञ्चालन गरिने बताइएको छ।

यस्तै, सेवा अवरुद्धका कारण थप जानकारी वा सहयोग आवश्यक परेमा ग्राहकले १९७ नम्बर वा पाटन कार्यालयको ०१–५४५३३६३ मा सम्पर्क गर्न सक्ने टेलिकमले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*