सुदूरपश्चिममा तीन दिन भारी वर्षा हुने, डोटी रेडजोनमा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मनसुन विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा आगामी दिनहरूमा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ। डोटी जिल्ला समेत उच्च जोखिमयुक्त क्षेत्रमा परेको भन्दै जिल्ला प्रशासन कार्यालय डोटीले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
वर्षा जोखिम नक्साङ्कनमा डोटी जिल्लाको पहाडी भूभाग र खप्तड राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रहरू रेडजोनमा परेका छन्। ती क्षेत्रहरूमा बासोबास गर्ने स्थानीयवासीलाई पहिरोको उच्च जोखिम रहन सक्ने प्रशासनको भनाइ छ। साथै, सेती नदी आसपासको तटीय क्षेत्रमा पानीको सतह बढ्न सक्ने र बाढी तथा कटानको सम्भावना रहेको बताइएको छ।
वर्षाका कारण सडक यातायात अवरुद्ध हुने, जनजीवन प्रभावित हुने, तथा आकस्मिक घटनाहरू हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय डोटीले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सम्बन्धित निकायहरूलाई आवश्यक पूर्वतयारी र प्रतिकार्य उपायहरू अवलम्बन गर्न सूचित गरिएको छ।














